• Friday 24th of July 2026

चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या


  • आशाका किरण

सुक्खा मौसम सुरु भएसँगै सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या भएकोे छ । जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झै यसवर्ष पनि खानेपानीको समस्या भएको हो ।

उत्तरी चुरे क्षेत्रमा खानेपानीका स्रोत सुक्न थालेका छन् । बस्तीमा खानेपानी अभाव भएको ईश्वरपुर नगरपालिका–१२ का रामबाबु थिङले बताउनुभयो । “धारामा पानी आउन छाडेको धेरै भयो, कुवा सुक्न थालेपछि खानेपानीको समस्या भएको छ”, उहाँले भन्नुभयो ।

ईश्वरपुर नगरपालिका–१२ को घारी बथान, गुइडुङ, शिर फुलजोर, शिर कालीन्जोर, लालबन्दी नगरपालिका–१५ को धुसेनी, देउराली, तिनघरे, लालबन्दी नगरपालिका– १२, १३ र १४ का अधिकांश बस्ती तथा हरिवन नगरपालिका–१ को चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या देखिएको छ । सुक्खा मौसम सुरु भएसँगै खानेपानीको समस्या देखिएको ईश्वरपुर नगरपालिका–१२ की जानुकी माया विकले बताउनुभयो ।

चुरे क्षेत्रका बस्तीमा फागुनबाटै खानेपानीको समस्या हुने गर्छ । बढ्दो वन विनाश र उत्खनन्का कारण पछिल्ला वर्षमा खानेपानीका स्रोत सुक्न थालेका प्राविधिकले बताएका छन् । स्थानीय सरकारले यस्ता कार्य रोक्न कुनै पहल नगरेको स्थानीय तेज तामाङले बताउनुभयो । “एक गाग्री खानेपानीको जोहो गर्न घण्टौ हिँडेर छिमेकी गाउँ पुग्नुपर्छ”, उहाँले भन्नुभयो, “गाउँमा एउटा मात्रै कुवा छ, पानीका लागि रातभर जाग्राम बस्नुपर्छ ।”

लालबन्दी नगरपालिका–१४, नारायणखोलाका जितबहादुर राना निर्वाचनका बेला यसो गर्दिन्छु उसो गर्दिन्छु भन्नेहरु त्यसपछि फर्किएर नआएको गुनासो गर्नुभयो । “पशुचौपाया र मानिसले एउटै खोला, खोल्सी र कुवाको पानी खानुपरेको छ । दुषित पानी पिउँदा झाडापखालालगायत रोगबाट पीडित हुनुपरेको छ”, उहाँले भन्नुभयो । फागुनदेखि जेठसम्म चुरेक्षेत्रका बस्तीमा खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको छ । लालबन्दी नगरपालिका–१२ भालुखोपका वीरबहादुर राना भन्नुहुन्छ, “मुहान सुक्न थालेपछि धारामा पानी आउन छाडेको छ, एक गाग्री पानी भर्न घण्टाँै कुर्नुपर्ने बाध्यता छ ।” खानेपानीको अभाव टार्न बागमती, हरिवन र लालबन्दी नगरपालिकाले लिफ्ट प्रविधिबाट खानेपानी पु¥याउने प्रयास गरे पनि त्यो सार्थक हुन सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij