• Tuesday 8th of September 2026

मुक्तकमैयाको समस्या पहिचान र समाधानका उपाय खोज्नुस् : प्रधानमन्त्री देउवा


  • आशाका किरण

प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयाको समस्या पहिचान र समाधानका उपाय खोज्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

आज यहाँ कमैया मुक्त घोषणाको २२ वर्ष पुगेका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस कुप्रथाको निर्मूल गर्न जरुरी भएकाले आवश्यक काम कारबाहीका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।

हरुवाचरुवालगायत कमैया श्रमिकको मुक्तिका साथसाथै तिनका परिवारका लागि रोजगारीको अवसरको सिर्जना गरी आयआर्जन बढाउने कार्य पनि उत्तिकै आवश्यक रहेको भन्दै त्यसतर्फ ध्यान दिन सम्बन्धित सबैलाई प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।

कार्यक्रममा उहाँले भन्नुभयो, “मुक्तकमैयालाई आत्मनिर्भर बनाउँदै उनीहरुको स्वतन्त्रता, स्वाभिमान र आत्मसम्मान बढाउन तीनवटै तहका सरकार र सरोकारवाला प्रतिबद्ध हुन आवश्यक छ ।” यस किसिमको श्रमिक परिवारको दिगो सामाजिक आर्थिक उन्नतिका लागि सीप र क्षमता विकास गर्दै उनीहरुलाई आत्मनिर्भर बनाउन र उद्यमशीलता बढाउन विशेष लक्षित कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्न पनि सम्बद्ध सबै निकायलाई प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।

कमैया प्रथा निषेध गर्नेसम्बन्धी ऐन विसं २०५८ मार्फत हरुवाचरुवालगायत सबै किसिमका कमैया श्रमिक परिवारको असमान श्रम सम्बन्ध र शोषणयुक्त प्रथाको अन्त्य तथा ऋण मोचन गरिसकेको पनि कार्यक्रममा प्रधानमन्त्रीले जानकारी गराउनुभयो ।

सबै किसिमका शोषण, विभेद र अन्यायमुक्त नेपाल निर्माणमा सबैको निरन्तर प्रयास आवश्यक रहेको भन्दै उहाँले सबैप्रति आग्रह गर्नुभयो । यस अवसरमा उहाँले सम्पूर्ण मुक्तकमैयालाई सुखी र सम्मान पूर्ण जीवनयापनको शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij