• Tuesday 8th of September 2026

राति जथाभावी फोहर फाल्नेलाई कारबाही गरिने


  • आशाका किरण

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकामा रातको समयमा जथाभावी फोहर फाल्नेलाई सिसी क्यामराको श्रव्यदृष्य हेरेर कारबाही गर्ने बताउनुभएको छ । नेपाल प्रहरीको आयोजनामा आज काठमाडौँमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उहाँले अहिले उपत्यकामा रहेको फोहरको पूर्ण व्यवस्थापन लगत्तै ट्राफिक प्रहरीको समन्वयमा सिसी टिभी हेरेर जथाभावी फोहर फाल्ने व्यक्तिलाई कारबाही गरिने बताउनुभयो ।

विशेष गरी रातको समयमा यसरी जथाभावी रूपमा फोहर फालिने गरिएको छ । उहाँले उपत्यकाको सिसी टिभी क्यामराका लागि महानगरले बजेटसमेत व्यवस्थापन गरेको पनि जानकारी दिनुभयो । नेपाल प्रहरीले उपत्यकामा हाल पाँच हजार सिसी क्यामरा रहेको र यहाँको शान्ति सुरक्षा चुस्त बनाउन र अपराध नियन्त्रणमा २५ हजार सिसी क्यामरा चाहिने जनाएको छ ।

प्रमुख साहले नेपाल प्रहरीसँग सहकार्य गरेर भवन जुन प्रयोजनका लागि नक्सा पास भएको छ, त्यही प्रयोजनमा ल्याउनका लागि प्रयास थालिएको पनि जानकारी दिनुभयो । उहाँले पार्किङको लागि बनाइएको क्षेत्रमा पसल, व्यवसाय सञ्चालन गरिएको ठाउँमा हटाउने कार्यमा प्रहरीसँग सहकार्यमा काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij