• Tuesday 8th of September 2026

खेलमा अनुशासित रुपमा प्रस्तुत हुन प्रधानसेनापतिको निर्देशन


  • आशाका किरण

प्रधानसेतापति प्रभुराम शर्माले त्रिभुवन आर्मी क्लबका प्रशिक्षक तथा खेलाडीलाई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मर्यादित र अनुशासित रुपमा प्रस्तुत हुन निर्देशन दिनुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उहाँले बढीभन्दा बढी स्वर्ण पदक प्राप्त गर्दै क्लबलाई फेरि पनि टिम च्याम्पियन बनाउन शुभकामना पनि दिनुभयो ।

पोखरामा यही असोज २८ देखि कातिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । उहाँले भन्नुभयो, “जुनसुकै प्रतिस्पर्धामा सहभागी हुँदा पनि सबैभन्दा पहिला म नेपाली सेनाको सदस्य हुँ र त्यसपछि मात्र खेलाडी हुँ भन्ने कुरालाई आत्मसात् गरौँ ।”

सेनाका प्रशिक्षक तथा खेलाडी नागरिक–सैनिक सम्बन्ध विस्तारका सेतु हुन् भन्दै उहाँले सबै खेलाडीलाई आसन्न खेलकुदमा पनि सङ्गठनको गरिमा अभिवृद्धि गर्नेतर्फ सचेत रहन सुझाव दिनुभयो ।

अघिल्लो राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाका त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको थियो । सेनाले खेलकुदको विकासका लागि रु १० करोडको अक्षयकोष खडा गरी त्यसबाट प्राप्त व्याजबाट खेलाडीको क्षमता अभिवृद्धिमा खर्च गर्दै आएको छ । सो अवसरमा प्रतियोगिताको रनिङ ट्रफी प्रदर्शनी गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij