• Tuesday 8th of September 2026

भूकम्प पीडितले पाए लालपुर्जा


  • आशाका किरण

गोरखाको धार्चे गाउँपालिका–४, लाप्राकस्थित गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमूना बस्तीका पाँच सय ५४ भूकम्पपीडित परिवारले लालपुर्जा पाएका छन् ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को सहयोगमा लाप्राकका भूकम्पपीडितकोे पुनःस्थापनाका लागि निर्माण गरिएको नमूना बस्तीका पाँच सय ७३ मध्ये पाँच सय ५४ परिवारले लालपुर्जा प्राप्त गरेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।

बाँकी रहेका भूकम्पपीडित परिवारलाई पनि केही समयभित्रै लालपुर्जा वितरण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी गोरखा भूकम्पले लाप्राकको पुरानो बस्ती ध्वस्त बनाएकाले बस्ती नै पुनःस्थापना गर्नुपरेको थियो । त्यसका लागि गुप्सीपाखामा रहेको सरकारी जग्गामा मन्त्रिपरिष्दबाट स्वीकृति लिएर एकीकृत बस्ती निर्माण गरिएको हो ।

भूकम्पको झण्डै आठ वर्षपछि भूकम्पपीडितले लालपुर्जा पाएका हुन् । गाउँपालिकाले दोस्रो चरणमा यहीँ पुस महिनामा थप दुई सय ७४ जनालाई लालपुर्जा वितरण गरेको उहाँले बताउनुभयो । उनीहरूलाई २०७७ सालदेखि नै लालपुर्जा वितरण थालिएको भए पनि लामो समयदेखि वितरण रोकिएको थियो । पहिलो चरणमा दुई सय ८० घरपरिवारले लालपुर्जा पाएका थिए । एकीकृत बस्तीका भूकम्पपीडितलाई लालपुर्जा वितरणका लागि जिल्ला मालपोत कार्यालयको टोली लाप्राक नै पुगेको थियो ।

कार्यालयबाट आठ जनाको टोली लाप्राक पुगेर दुई सय ९० परिवारको लालपुर्जा तयार गरेर कार्यालयको टोली सदरमुकाम फर्किएको हो । वितरण गर्न बाँकी रहेकामध्ये केही विदेशमा रहेका र केहीको मृत्यु भइसकेकाले ढिलाइ भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । एनआरएनएले लाप्राकमा १८ दशमलव ३२ हेक्टर क्षेत्रफल जमिनमा प्रत्येक परिवारका लागि करिब तीन आना जग्गा पर्ने गरी घर निर्माण गरिदिएको हो । दुई तला रहेको प्रत्येक चार कोठा रहेका छन् । त्यस्तै प्रत्येक घरका लागि छुट्टै शौचालयको समेत व्यवस्था गरिदिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij