• Tuesday 8th of September 2026

खानेपानीको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउनुपर्ने


  • आशाका किरण

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी दिनमा हुन सक्ने समस्यालाई बुझेर दाङ जिल्लामा खानेपानीको दीर्घकालीन योजना निर्माणका लागि प्रदेश र सङ्घीय सरकारमार्फत पहल गर्ने बताउनुभएको छ ।

उहाँले जिल्लाको खानेपानी समस्यालाई दीर्घकालीन रुपमा नै समाधान गर्नेगरी आफू गम्भीर रहेको पनि स्पष्ट गर्नुभयो । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आज यहाँ आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले बढ्दो जनसङ्ख्याअनुसार खानेपानीको सहज उपलब्धताका लागि राज्यका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकामा आफ्नो सशक्त पहल रहने प्रतिबद्धता जनाउनुभयो ।

स्थानीय सरकारले साना, प्रदेश सरकारले मझौला तथा सङ्घ सरकारले ठूला आयोजनाका काममा प्राथमिकता दिएको भन्दै वर्तमान सरकार जनताका माग र आवश्यकताको प्राथमिकीकरण गरेर अघि बढ्ने पनि मन्त्री शर्माले बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य राजु खनाल र प्रचण्डविक्रम न्यौपानेले दाङलाई मरुभूमि हुनबाट रोक्न र खानेपानीको सहज आपूर्ति बढाउन तीन तहका सरकारसँग आग्रह गर्नुभयो । उहाँहरुले जिल्लामा बढ्दो जनसङ्ख्या र बसाइँसराइका कारण सहरीकरण विस्तारित भएको र खानेपानीको समस्या पनि बढ्दै गएको बताउनुभयो ।

घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले यस क्षेत्रको खानेपानीको समस्या समाधानका लागि पछिल्लो समय बबई लिफ्टिङ खानेपानी परियोजनाको पूर्वाधार विकास अघि बढाएको छ । सो परियोजना विसं २०८१ सम्ममा सम्पन्न हुने बताइएको छ । रु पचास करोडको लागतमा निर्माण सुरु भएको बबई लिफ्टिङ परियोजना लागू भएमा आगामी ४० वर्षसम्म घोराहीमा खानेपानीको समस्या समाधान हुने विश्वास गरिएको छ ।

हाल संस्थाले १४ वटा डिप बोरिङबाट पानी बाँड्दै आएको छ भने कटुवा खोलाबाट स्रोतको पानी वितरण गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij