• Tuesday 8th of September 2026

घरघरमा धारा बनेपछि खुसी


  • आशाका किरण

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोककी ६५ वर्षीय मैया खड्का आँगनमै पानीको धारा झरेपछि दङ्ग हुनुहुन्छ । एक गाग्रो पानीका लागि घण्टौँ कुरेर पनि कुवाको पानी खानुपर्ने बाध्यताको अन्त्य भएपछि उहाँ खुसी हुनुहुन्छ ।

मैयाले भन्नुभयो, “घरमा धारा होला र पानी आउला भन्ने सोचेकै थिएनौँ अहिले हाइसञ्चो भएको छ ।” पाल्चोक खानेपानी आयोजनाले झन्डै १० वर्षभन्दा बढी समय लगाएर पाँच किलोमिटर टाढाको पहरोलाई छिचोल्दै कुँडुले खोलाबाट पानी ल्याएर पाँच सय ९९ धारा बनाउन सफल भएको समितिका अध्यक्ष जिमी तामाङले जानकारी दिनुभयो ।

खानेपानी तथा सरसफाइ विकास कार्यालयको सहयोगमा रू तीन करोड १८ लाख सहयोगमा घर–घरमा खानेपानीको धारा बनेपछि दीपबहादुर खड्का निकै खुसी देखिनुहुन्छ । वर्षौंदेखि पानीको ठूलो समस्या भोगे पनि अहिले घरघरमै धारा र २४ सै घण्टा पानी आउन थालेपछि उहाँले सबैलाई धन्यवादसमेत दिनुभयो ।

चौतारा साँगाचोकगढी नगरपालिका–७ को नेपानेवासीले एक सय १९ धारा पाएका छन् । नगरको ‘एक घर एक धारा’ कार्यक्रम अन्र्तगत घरघरमा धाराको व्यवस्था गरिएको हो । नेपाने खानेपानी उपभोक्ता समितिले निर्माण गरेको धारामा पानी आएपछि स्थानीयवासीमा खुसी भरिएको छ । सुख्खा क्षेत्रको रुपमा चिनिएको सिरुबारीको नेपानेमा धारा बनेपछि खानेपानीसँगै करेसाबारीमा पानी लगाउन सहज भएको वडा अध्यक्ष डम्बरबहादुर तामाङले बताउनुभयो ।

चौतारा बजार नजिकै रहेको हुन्द्रुङ गाउँका स्थानीयवासीले गाग्री बोकेर पँधेरा धाउन पर्ने बाध्यता हटेको छ । यसअघि खानेपानीको लागि उनीहरु बस्ती नजिकैको छाँगाखोलामा जानुपर्ने बाध्यता थियो । अहिले घरघरमा धारा निर्माण भएपछि टाढासम्म जानुपर्ने दिन अन्त्य भएकोमा स्थानीयवासी खुसी छन् ।

स्थानीय ६५ वर्षीया बुद्धिमाया घलेले भन्नुभयो, “काँधमा बच्चा र आङमा पानीको गाग्री बोकेर छाँगाखोला धाउने दिन अन्त्य भएको छ । पहिले पहिले बिहान भाले बास्ने वित्तिकै घरदेखि एक किलोमिटर परको छाँगाखोलामा पानी लिन जानेको लस्कर नै हुन्थ्यो ।”, उहाँले भन्नुभयो, “केही दिन अघिसम्म सामुदायिक धारामा जाने गरेका थियौँ अहिले घरघरमा नै धारो बनेको छ खुसी छौँ ।”

गाउँमा एक सय पाँच घरधुरी रहेकोमा एक विद्यालयसहित २१ घरधुरीलाई एक घर एकधारा वितरण गरिएको छ । आयोजना निर्माणका लागि नगरपालिकाले रू १० लाख २६ हजार आठ सय ८९ र सेवक नेपालले रू पाँच लाख सहयोग उपलब्ध गराएको थियो । उपभोक्ताबाट रू तीन लाख ४० हजार दुई सय बराबरको श्रमदान गरी कूल रू १८ लाख ६७ हजार ९७ लागतमा घरघरमा खानेपानीको धारा पुर्‍याउन सफल भएको समितिको कोषाध्यक्ष सरोजा घलेले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij