• Friday 24th of July 2026

अभिभावकविहीन बालबालिकाका लागि बालगृह


  • आशाका किरण

ढोरपाटन (बागलुङ), १२ असोज : तमानखोला गाउँपालिकाले बालगृह सञ्चालनमा ल्याएर अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गरेको छ । गाउँपालिकाले वडा नं ३ को तमान गाउँमा ‘तमानखोला बालगृह’ सञ्चालनमा ल्याएर पालनपोषण र कक्षा १२ सम्म पढाउने व्यवस्था मिलाएको छ ।

सुरुमा ३४ बालबालिका रहेकामा अहिले २७ जना रहेका बालगृह सञ्चालक समितिका संयोजक एवं वडा नं ३ का अध्यक्ष झकबहादुर बुढामगरले बताउनुभयो । गाउँ–गाउँमा पुगेर अनाथ बालबालिका खोजेर ल्याई यहाँ राखेर उनीहरुको पालनपोषण र पढाइको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । अहिले बालबालिको पढाइ राम्रो बन्दै गएको उहाँको भनाइ थियो ।

तमानखोला गाउँपालिका–६ नर्जाखानीका १५ वर्षीय दीपेन्द्र विक हिजोआज तमानखोला बालगृहमा बस्दै आउनुभएको छ । सानै उमेरमा आमा बितेपछि उहाँलाई हजुरबुबाहजुरआमाको जिम्मा लगाइएको थियो । कक्षा ९ मा पढ्ने उहाँ बुढा हजुरबुबाहजुरआमासँग कष्टकर जीवन बिताइरहनुभएको थियो । दीपेन्द्रलाई गत वर्ष गाउँपालिकाले बालगृहमा ल्याएर निःशुल्क पालनपोषण र पढाइ लेखाइको प्रबन्ध मिलाएको छ ।

घरमा हुँदा राम्रोसँग पढ्न र पेटभरि खाना नपाएको बताउँदै दीपेन्द्रले अहिले दैनिक विद्यालय जाने र पेटभरि खान पाएको बताउनुभयो । सानैमा आमा गुमाउनुभएका दीपेन्द्रले आमाको माया नपाए पनि हजुरबुबा र हजुरआमाको माया भने प्रशस्त पाउनुभयो । अहिले बालगृहमा साथीभाइबाट पनि उत्तिकै माया पाउनुभएको छ । घरमा हुँदा भोगेका दुःख, कष्टलाई दीपेन्द्रले भुल्न सक्नुभएको छैन । घरपरिवारमा हुँदा दुःख पाएको भए पनि अहिले धेरै सहजरूपमा दैनिकी चलेको उहाँको भनाइ थियो ।

बालगृहमा आफूजस्ता थुप्रै अभिभावकविहीन बालबालिका रहेका भन्दै सबैसँग मिलेर बस्ने गरेको दीपेन्द्रले बताउनुभयो । बेलाबेला गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायतका जनप्रतिनिधि आएर नयाँ र सिर्जनशील काम गर्न प्रेरित गर्ने र आफूहरूको समस्या बुझ्ने गरेको उहाँको भनाइ थियो । अहिले बालगृहमा रहेका बालबालिकासँग एउटै परिवारको सदस्यजस्तै मिलेर बस्ने तथा आवश्यक सामान समयमै पाउने गरेको विकले बताउनुभयो ।

“म सानै हुँदा आमा बित्नुभएछ, बाजे र बजैले निकै दुःख गरेर मलाई हुर्काउनुभयो, अहिले त अलि ठूलो भएँ, पोहोर सालदेखि गाउँपालिकाका सरहरूले यहाँ लिएर राख्नुभएको छ, बाबाले बिहे गरेर मलाई छाडेर जानुभयो, कहाँ हुनुहुन्छ थाहा छैन । घरमा हुँदा पढ्न मन भए पनि राम्रोसँग पढ्ने वातावरण थिएन”, उहाँले भन्नुभयो, “अहिले धेरै सुविधा पाएको छु । पढाइ पनि राम्रो भएको छ, दिनदिनै स्कुल जान पाएको छु, खुसी लागेको छ ।”

तमानखोला गाउँपालिका–२ भयर भोङ्गाकी १४ वर्षीया निता सिर्पाली पनि यही बालगृहमा बस्दै आउनुभएको छ । निताको बुबाको मृत्युपछि आमाले अर्को बिहे गरेर जानुभयो । बुबाआमा नभएपछि हजुरबुबा र हजुरआमासँग बस्दै आउनुभएकी निताले सानोमा निकै दुःखदायी जीवन बिताउनुभयो । अहिले बालगृहमा बस्न थालेपछि उहाँको दैनिकी फेरिएको छ । परिवारको आर्थिक अवस्था निकै कमजोर हुँदा पढ्न लेख्न नपाएको भन्दै अहिले दैनिक विद्यालय जाने र पढाइ सुधार हुँदै गएको उहाँले बताउनुभयो ।

“घरमा हुँदा कापी कलम किन्ने पैसा पनि हुँदैनथ्यो, घरको सबै काम गर्नुपथ्र्यो, बाजे÷बज्यै बुढाबुढी हुँदा काम गर्न सक्नु हुँदैनथ्यो, कहिले स्कुल गइन्थ्यो, कहिले गइन्नथ्यो”, निताले भन्नुभयो, “अहिले त सधैँ स्कुल गइन्छ, पहिला खाना लगाउन राम्रोसँग पाइन्नथ्यो, अहिले राम्रो भएको छ, साथी पनि धेरै छन्, खेल्ने, पढ्ने समय हुन्छ । स्कुल पनि नजिकै छ, पहिलेको जस्तो टाढा जानु पर्दैन ।”

बालगृह सञ्चालक समितिका संयोजक बुढामगरले भन्नुभयो, “बालगृह सञ्चालन ताका ३४ जना बालबालिकालाई ल्याएर यहाँ राखेका थियौँ, पछि उनीहरूको आमाबुबा कोही विदेश रहेछन्, आएर लगे । अहिले २७ जनालाई राम्रो व्यवस्थापनका साथ लालनपालन र पढाउने काम भइरहेको छ । समय–समयमा विभिन्न सङ्घसंस्थाले पनि सहयोग गर्ने गरेका छन् ।”

उहाँले बालगृह गाउँपालिकाको लगानीमा सञ्चालन गरिएको जानकारी दिनुभयो । बुढामगरका अनुसार गाउँपालिकाले तमान गाउँमा घरभाडामा लिएर बालगृह सञ्चालन गरेको छ । बालगृहमा कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने बालबालिका छन् ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले कुनै पनि बेसहारा बालबालिकाले दुःख नपाउन् भन्ने उद्देश्यले बालगृह सञ्चालन गरेको बताउनुभयो । बालबालिकालाई पालनपोषण गर्ने, १२ सम्म पढाउने र विभिन्न किसिमका सीपमूलक तालिम दिने, रोजगारीको व्यवस्था मिलाउनेलगायत काम गरिने उहाँको भनाइ थियो । पालिकाले ‘तमानखोला विकास कोष’ निर्माण गरेर बालगृह सञ्चालन गरेको अध्यक्ष बुढामगरले बताउनुभयो ।

“हाम्रो पालिका अलि पिछडिएको ठाउँमा पर्छ, यसले गर्दा यहाँ थुप्रै चुनौती छन्, त्यसलाई चिर्दै विकास गर्ने हाम्रो लक्ष्य हो, पूर्वाधार विकासका काम त हामीहरूले निरन्तर गर्दै आइरहेका छौँ, पोहोर सालदेखि आमाबाबु गुमाएर बेसहारा बनेका बालबालिकालाई पालिकाले अभिभावकत्व गरी उनीहरूको पालनपोषण र शिक्षादीक्षा दिने कामको थालनी गरेका छौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “अहिले बालबालिकामा छुट्टै खालको खुसी देखिन्छ, उनीहरूको खुसीले हामीलाई पनि खुसी बनाउँछ, पढ्न नपाएका बालबालिका अहिले खुसीका साथ पढ्न पाएका छन् । अब उनीहरूलाई सीपसँग जोडेर स्वरोजगार बनाउने योजनामा छौँ ।”

बालगृहमा बस्ने बालबालिकाले स्थानीय धन गौ ज्योति माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् । बालबालिकाको पढाइमा निरन्तर सुधार हुँदै गइरहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij