• Friday 24th of July 2026

अस्पताल बन्ने भएपछि ढेरपाटनवासी खुसी


  • आशाका किरण

ढोरपाटन, २१ असोज : चार वर्षअघि ढोरपाटनमा कसैलाई सामान्य चोटपटक लाग्यो भने उपचारका लागि बुर्तिबाङ ल्याउनु पथ्र्यो । कच्ची र जोखिमयुक्त सडकमा घण्टौँ यात्रा गरेपछि मात्रै बुर्तिबाङ बजार पुग्नुपथ्र्यो तर ढोरपाटन नगरपालिकाले विसं २०७४ मा स्यालपाखेमा सहरी सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएपछि स्थानीयवासीलाई सामान्य उपचारका लागि बजार झर्नुपर्ने बाध्यता हटेको छ ।
गत वर्षदेखि वडा नं ९ को ढोरपाटन उपत्यकामा नगरअस्पताल पनि निर्माण गर्न सुरु गरिएको छ । पाखाथरमा ढोरपाटनमा नगर अस्पताल बन्न थालेपछि स्थानीय खुसी भएका छन् ।

सहरी सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन आउनुपूर्व ढोरपाटन क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच थिएन । बुर्तिबाङ बजारदेखि ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनमा बाहिरबाट आउने पर्यटकसमेत बिरामी हुँदा उपचारमा समस्या हुने गरेको थियो । उच्च स्थानमा हुँदा पर्यटकलाई लेक लाग्ने समस्या बढी हुने गर्दछ । स्वास्थ्य सेवाको पहुँचबाट धेरै टाढा हुँदा यस क्षेत्रका धेरै नागरिकले अकालमा ज्यान गुमाउनु परेको स्थानीयवासी वीरबहादुर घर्ती मगरले बताउनुभयो ।
वर्षौँदेखि स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई सहरी सामुदायिक स्वास्थ्य केन्द्रले ठूलो राहत दिएको उहाँको भनाइ थियो । ढोरपाटनमा बिरामी परेका नागरिकलाई बुर्तिबाङसम्म पु¥याउँदा धेरैले बाटोमै ज्यान गुमाउनु परेकाले अहिले बन्दै नगरअस्पताल सञ्चालनमा आएपछि यहाँका स्थानीयवासीलाई ठूलो राहत मिल्ने घर्ती मगरले बताउनुभयो । “ढोरपाटन सेवा सुविधाको हिसाबले धेरै पछाडि छ, सडकले जोडिएको वर्षौँ भयो तर अहिलेसम्म गतिलो अस्पताल बन्न सकेको छैन, अस्पताल गत सालदेखि बन्न थालेको हो, गाउँमा अस्पताल बन्न थालेपछि हामीहरु धेरै खुसी भएका छौँ,” घर्ती मगरले भन्नुभयो–“पहिला–पहिला बिरामीलाई अस्पताल पु-याउँदा पु-याउँदै बाटोमै बित्थे अहिले पनि ठूलो रोगको उपचार हुन्न घाउ चोट लागेको र ज्वरो आएकालाई मात्रै औषधि पाइन्छ, ठूलै रोग लाग्यो भने, बुर्तिबाङ, पोखरा या काठमाडौँ जानुपर्छ, हुने खाने त जान्छन्, गरिब मान्छे त उपचार नपाएर मर्नुको विकल्प छैन ।”

केन्द्र सरकारले विनियोजन गरेको रु १४ करोड ७६ लाखको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण हुन लागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केशव थापाले जानकारी दिनुभयो । बुर्तिबाङमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेकाले नगरपालिकाले ढोरपाटनमा नगर अस्पातल बनाउन थालेको उहाँले बताउनुभयो । हाल ढोरपाटनमा सञ्चालनमा रहेको सहरी सामुदायिक स्वास्थ्य इकाइबाट आधारभूत स्वास्थ्य सेवा प्रदान भइरहेको छ ।

संयोजक थापाले भन्नुभयो–“हामीले ढोरपाटनबाट स्वास्थ्य सेवा दिन थालेको धेरै समय भएको छैन, त्यहाँ स्वास्थ्य संस्था स्थापना गरेर सेवा दिन थालेपछि स्थानीयवासीलाई ठूलो राहत भएको छ, यहाँबाट प्रसूति सेवाका लागि बर्थिङ सेन्टर पनि सुरु गरेका छौँ, दुई स्वास्थ्यकर्मी र दुई कार्यालय सहयोगी राखेर सेवा दिइरहेका छौँ, नगर अस्पताल बनेपछि चिकित्सकसहितको सेवा सुरु हुनेछ ।

वडा नं ६, ७, ८ र ९ का करिब पाँच हजार बढी बासिन्दा हिउँदको बेलामा अधिकारीचौर, बोबाङलगायत ठाउँमा झर्ने र बर्खाको समयमा ढोरपाटन बस्ने गर्दछन् । अस्पताल निर्माणपछि ढोरपाटनसँगै निसेलढोर र पूर्वीरुकुमको तकसेरा, हुकाम मैकोट, म्याग्दीको जलजलाका नागरिकलाई उपचारमा सहज हुने अपेक्षा लिइएको छ । अस्पताल निर्माणका लागि एसी कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ ।
विसं २०८२ असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने उक्त अस्पतालको हाल ३० प्रतिशत काम सम्पन्न भएको भैसकेको बताइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij