• Friday 24th of July 2026

(एनपीएल) को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिष्पर्धा : दुवै टोलीका कप्तान उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने


  • आशाका किरण

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिष्पर्धा हुदैछ । फाइनल अघि दुवै टोलीका कप्तानले उपाधि आफूले जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताएका छन् ।

फाइनल खेल अघि शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको ‘प्रि म्याच कन्फ्रेन्स’मा दुवै टिमका कप्तानहरुले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने बताउँदै फाइनलका लागि तयार रहेको पनि बताएका छन् । जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले फाइनल खेलका लागि छुट्टै योजना नबनाएको बताँउदै हरेक खेललाई समान महत्व दिने र आफ्नो क्षमता प्रदर्शनमा केन्द्रित रहने बताए । आसिफले पावर प्लेको सदुपयोग र सुरुवाती ओभरमा आक्रामक खेल प्रदर्शन गर्ने रणनीति लिने उल्लेख गर्दै सुरुवाती ओभरमा बढीभन्दा बढी रन बनाउने र अन्तिम चार ओभरलाई सदुपयोग गर्ने प्रयास हुने बताए ।

त्यस्तै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफ्नो टोली मानसिक रूपमा फाइनलका लागि तयार रहेको बताए । दीपेन्द्रले फाइनलमा जनकपुर बोल्ट्सलाई कमजोर प्रतिद्वन्द्वीका रूपमा नलिएको बताउँदै दुईपटक जनकपुरलाई हराएको कुरालाई उनीहरु कमजोर छन् भन्ने रुपमा नबुझेको उल्लेख गरे ।उनले टसपछि विकेटको अवस्था हेरेर ब्याटिङ वा बलिङको निर्णय लिने योजना रहेको बताए ।

सुदूरपश्चिम पहिलो क्वालीफायरमा जनकपुरलाई पराजित गर्दै फाइनलमा पुगेको टिम हो भने जनकपुरले एलिमिनेटरमा जितेर आएको कर्णाली याक्सलाई स्तब्ध बनाउँदै फाइनलमा स्थान बनाएको हो । फाइनल खेल मध्यान्ह १२ बजेपछि सुरुहुने छ । प्रतियोगिताको उपाधि विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउँदा उप विजेता हुने टिमले ५१ हजारमा चित्त बुझाउने छ । एनपीएलमा तेस्रो स्थानमा रहेको कर्णाली याक्सले २५ लाख पक्का गर्दा चौथो भएको चितवन राइनोजले १५ लाख पाउने भएको छ । एनपीएलमा ८ टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij