• Tuesday 8th of September 2026

संयुक्तविद्यार्थी सङ्गठनले कोरोनाविरुद्ध देशभर सचेतना फैलाउने


  • आशाका किरण

संयुक्त विद्यार्थी सङ्गठनले विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को विरुद्धमा आफ्ना समितिमार्फत देशभर सचेतना फैलाउने भएका छन् । संयुक्त विद्यार्थी सङ्गठनको आज अनुपम फुडल्याण्डमा बसेको बैठकले विश्वमा फैलँदै गएको कोरोना भाइरसलाई नेपालमा फैलन नदिन आफ्नो समितिमार्फत देशभर सचेतना फैलाउने निर्णय गरेका हुन् । बैठकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र नेपालसँग जोडिएका खुला नाकामा अत्यावश्यक सामग्रीबाहेक मानिस आवतजावतमा रोक लगाउनुपर्ने बताएको छ । बैठकले कोरोना सङ्क्रमण देखिए उपचारका लागि पर्याप्त तयारी गरेर सरकार अगाडि बढ्नुपर्ने बताएको छ । विद्यार्थी सङ्गठनले धेरै भीडभाड हुने क्षेत्रमा विशेष सचेतना अपनाउन सबैलाई अनुरोधसमेत गरेका छन् । बैठकले उच्च माध्यमिक शिक्षा परीक्षा (एसइई) नजीक आइरहेको भन्दै परीक्षा केन्द्रमा उच्च स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिनुभयो । कोरोनाको नाममा त्रास फैलाई बजारमा सामान कालोबजारी हुँदै गएको भन्दै संयुक्त विद्यार्थी सङ्गठनले बजारको समेत अनुगमन गर्ने निर्णय गरेको छ । बैठकले चैत महिनामा विद्यालय सञ्चालन नहुने भएकाले विद्यार्थीको चैत महिनाको शुल्क नलिनसमेत निजी विद्यालयसँग मागसमेत गरेको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले विपद्को बेला शिक्षा क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्नका लागि सबै विद्यार्थी सङ्गठन एकजुट भएर अगाडि बढेको बताउनुभयो । बैठकमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गाना, अनेरास्ववियुका संयोजक ऐन महर, राष्ट्रिय विद्यार्थी सङ्घका अध्यक्ष मनिष मिश्र, अखिल (छैटौँ)का अध्यक्ष विमल पोखरेल, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij