• Wednesday 9th of September 2026

३०० श्ययाको क्वारेन्टिन बनाइँदै


  • आशाका किरण

कोरोना भाइरसको जोखिम हुन नदिन खलङ्गामा ३०० श्यया क्षमताको क्वारेन्टिन बनाउने तयारी थालिएको छ । सङ्क्रमित जिल्ला र भारतबाट आएकालाई राख्न यहाँका सातवटै गाउँपालिकाले क्वारेन्टिन बनाउन लागेका हुन् । जिल्ला समन्वय समितिको पहलमा सदरमुकाममा बसेको स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकाय, स्वास्थ्यलगायत सरोकारवाला निकायको बैठकले तत्काल सदरमुकामस्थित त्रिभुवन मावि र भेरी ज्ञानोदय क्याम्पसमा क्वारेन्टिन बनाउने निर्णय गरेको जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले जानकारी दिनुभयो । बैठकले कोरोना जोखिम हुन नदिन भारत र अन्य जिल्लाबाट आएका तथा ल्याउनुपर्ने नागरिकको स्वाब परीक्षण गरेरमात्र घर पठाउने निर्णय गरेको छ ।

क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतको संयोजकत्वमा प्रत्येक पालिकाले आ–आफ्ना पालिकाका प्रभावित नागरिकको जिम्मेवारी लिनेगरी एक÷एकजना स्वास्थ्यकर्मी र एक÷एकजना सम्पर्क व्यक्ति परिचालन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । क्वारेन्टिनको क्षमताभन्दा बढी भएमा सम्बन्धित पालिकाको केन्द्रमा यथासम्भव क्वारेन्टिन निर्माण गरी राख्ने निर्णय बैठकले छ । स्वास्थ्य परीक्षणमा अपुग भिटिएम (भाइरल ट्रान्सपोर्ट मिडिया), व्यक्तिगत सुरक्षा (पिपिइ सेट) सामग्रीलगायतका अन्य स्वास्थ्य सामग्री स्वास्थ्य सेवा कार्यालयको परामर्शमा सम्बन्धित पालिकाले खरिद तथा व्यवस्थापन गर्नुपर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । सो निर्णयसँगै नेपाली सेना र सशस्त्र प्रहरी क्वारेन्टिन निर्माणमा जुटेका छन् । कोरोनाको जोखिम बढ्ने भन्दै स्थानीयवासीले सम्बन्धित पालिकामा नै क्वारेन्टिनको व्यवस्था गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij