• Wednesday 9th of September 2026

बिहीबारदेखि दादुरा रुवेलाविरुद्धको खोप लगाउँदै काठमाडौँ महानगरपालिका


  • आशाका किरण

काठमाडौँ महानगरपालिकाले महानगरका बालबालिकालाई बिहीबारदेखि दादुरा रुवेलाविरुद्धको खोप लगाउँदै आएको छ । जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष उमेरसमूहका बालबालिकालाई विशेषरुपमा खोपको व्यवस्था गरिएको हो । गत वैशाख महिनामा नै लगाउनुपर्ने उक्त खोप कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको थियो । विशेष सावधानी अपनाएर बिहीबारदेखि बालबालिकालाई दादुरा रुवेलाविरुद्ध खोपको व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ । आफूलाई सहज हुने स्वास्थ्य केन्द्र र वडा कार्यलयबाट यो खोप सेवा लिन सकिने कामपा–८ का सदस्य इन्दिरा भण्डारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार खोप लगाउन बिहीबार र शुक्रबारको समय निर्धारण गरिएकामा ती दिन छुटेकाहरुलाई सम्बन्धित वडा कार्यालयबाट शनिबार पनि लगाउने व्यवस्था गरिएको छ ।

“मुलुकमा बढ्दै गएको कोरोना भाइरस सङ्क्रमणबाट आफू र बालबालिकालाई जोगाउन हरेक परिवारमा अर्को जिम्मेवारी थपिएको छ”, सचेतना एवं सावधानी अपनाउँदै आफ्ना सन्तानलाई खोप लगाउन महिला सदस्य भण्डारी आग्रह गर्नुहुन्छ । देशका अन्य स्थानीय तहले बन्दाबन्दी हुनुपूर्वनै बालबालिकालाई यो खोप दिएको भएपनि कामपाले भने अहिले शुरु गरेको हो । ‘नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरा–रुवेला रोग निवारण गर्ने अभियान लिइसकेको छ । मुलुकमा सन् २००४ देखि शुरु भएको यस अभियान सन् २०२० सम्म आइपुग्दा पाँचौँ कार्यक्रम हो । नियमितरूपमा लगाइने खोप लामो समयसम्म रोक्दा भविष्यमा यसले ठूलो स्वास्थ्य दुर्घटना निम्त्याउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई हप्ताअघि नै आधारभूतरूपमा लगाइने खोपहरू सामाजिक दूरी कायम गर्दै निरन्तरता दिन आग्रह गरेपछि पछिल्लो समय खोप सेवा शुरु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij