• Wednesday 9th of September 2026

स्वास्थ्य सेवामा समान पहुँच वृद्धिका लागि अनुसन्धान आवश्यक : मन्त्री ढकाल


  • आशाका किरण

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधामा अनुसन्धान हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको छैठौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै मन्त्री ढकालले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन मन्त्रालयले परिषद्को सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुदृढीकरणका लागि सरकार तत्पर रहने उल्लेख गर्नुभयो ।

परिषद्ले स्वास्थ्यका महत्वपूर्ण क्षेत्रको पहिचान गरी प्राथमिकताका आधारमा रहेर ती क्षेत्रमा अध्ययन अनुसन्धान गरी तथ्यमा आधारित नीति तथा कार्यक्रम निर्माण गर्न उल्लेखनीय भूमिका खेलेको जनाउँदै कोभिड–१९ को महामारीका सम्बन्धमा नेपाल सरकारले निरन्तररुपमा यसको विरुद्ध खटिरहेको र परीक्षण लागि एउटा मात्रै प्रयोगशाला रहेकामा अहिले यो सङ्ख्या बढाएर २५ पुगिसकेको र अझै विस्तार हुने क्रममा रहेको जानकारी दिनुभयो । “सरकारले कोभिड– १९ को नियन्त्रणका लागि लकडाउन, सामाजिक दूरी, वैज्ञानिक तथ्यमा आधारित जानकारी निरन्तररुपमा आम जनताको प्रत्यक्ष पहुँचमा पुग्नेगरी प्रवाह गर्ने जस्ता रणनीति अपनाउँदै आएको छ”, उहाँले भन्नुभयो, “प्रभावित व्यक्तिको सुरक्षा र स्वास्थ्य सेवाको समान पहुँचको सुनिश्चितता र मानवीय सिद्धान्तको उच्चतम् अभ्यास भएको छ ।”

हालसम्म सरकारबाट भइरहेको कार्यलाई आमजनताले सहयोग गर्दै आएका र भविष्यमा सरकारकोतर्फबाट आवश्यकताअनुसार थप कार्यक्रम गराउँदै जाने योजना लिएको जनाउँदै उहाँले त्यसका लागि एकजुटरुपमा यस महामारीविरुद्ध लड्न आह्वान गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij