• Tuesday 8th of September 2026

कामपाका विद्यालयमा अनिवार्य स्थानीय पाठ्यक्रम


  • आशाका किरण

काठमाडौँ महानगरपालिकाले सबै संस्थागत र सामुदायिक विद्यालयमा अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । कामपाले पहिलोपटक पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारी लागू गर्न लागेको हो । कामपा क्षेत्रभित्र रहेका सबै संस्थागत र सामुदायिक विद्यालयमा अनिवार्य रुपमा लागू गर्ने गरी कक्षा १ देखि ८ सम्म पठनपाठन गराउनका लागि स्थानीय विषयको पाठ्यक्रम तयार गरेको छ । हाल कामपामा ९२ सामुदायिक विद्यालय र संस्थागत विद्यालय ६४० रहेको छ ।

कामपामा मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषयबारे परिचित गराउने उद्देश्यले यस्तो पाठ्यक्रम तयार पारेको कामपाले जनाएको छ । ‘पाठ्यक्रम नेपाल भाषाको माध्यमबाट पठनपाठन गरिने छ,’ पाठ्यक्रम तयार गर्न कामपाले गठन गरेको पाठ्यक्रम समितिका संयोजक डा चुन्दा बज्राचार्यले भन्नुभयो, “कक्षा १ देखि ८ सम्म पठनपाठन गराउन कामपाले नेपाल भाषाबाट तयार गरेको पाठ्यक्रम शिक्षा समितिबाट पारित गर्ने चरणमा छ । पाठ्यक्रम पारित हुनेबित्तिकै त्यसैको आधारमा पाठ्यपुस्तक पनि तयार हुनेछ ।”

‘यःमरी, मरुहिटी, क्वहिटी, थँहिटी आदि जस्ता रैथाने शब्द अरु भाषामा बुझाउन सकिँदैन, ती कुरालाई बुझ्न सकून् भन्ने उद्देश्यले त्यस्ता स्थानको अवलोकन भ्रमणसहित स्थानीय भाषामै पढाउने निर्णय भएको हो,’ डा बज्राचार्यले बताउनुभयो । कामपा शहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठले यो विषय भाषाभन्दा पनि काठमाडौँको परिचयमा केन्द्रित रहेको बताउनुभयो । कामपाका शिक्षा विभागका शाखा अधिकृत मोती भट्टराईले काठमाडौँको कला, संस्कृति, सम्पदा संरक्षण गर्ने उद्देश्यले यो पाठ्यक्रम ल्याएको बताउनुहुन्छ । कामपाको सातौँ नगरसभाले स्थानीय पाठ्यक्रमअन्तर्गत स्थानीय महत्वका विषयबारे कामपालाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरी तयार परिएको समितिको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij