• Wednesday 9th of September 2026

जिल्ला अस्पताल स्याङ्जामा हेमोडायलासिस सेवा शुरु


  • आशाका किरण
dialysis health care medicine kidney

जिल्ला अस्पताल स्याङ्जामा निःशुल्क हेमोडायलासिस सेवा शुरु भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र जिल्ला अस्पतालको संयुक्त लगानीमा गत शुक्रबारदेखि निःशुल्क सेवा शुरु भएको जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डा सुशील मरासिनीले बताउनुभएको छ । जिल्ला अस्पतालमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले चारवटा मेसिन उपलब्ध गराएको थियो भने अस्पतालले औषधिसहित अन्य आवश्यक सामग्री खरीद गरेसँगै सेवा थालनी गरिएको डा मरासिनीले बताउनुभयो । “चारवटा मेसिन अहिले अस्पतालमा छन् तर हामीले एक सिफ्टमा तीनवटा मेसिन चलाउँछौँ भने एउटा मेसिन रिजर्भमा राख्छौँ”, डा मरासिनीले भन्नुभयो, “एक सिफ्टमा तीनजनाको उपचार गर्न सकिन्छ, हेमोडायलासिस तीनदेखि चार घण्टामा सकिन्छ ।”

हेमोडायलासिस सेवा जिल्ला अस्पताल स्याङ्जाबाट प्राप्त हुने भएपछि मिर्गौलासम्बन्धित बिरामीलाई सहजता हुने भएको छ । उपचारका लागि पोखरा, बुटवल, काठमाडौँलगायत शहरमा जानुपर्ने बाध्यता हटेर जाने भएकाले पनि थप सहजता हुने डा मरासिनीले बताउनुभयो । मेसिन चलाउनका लागि अर्थात् उपचार विधिबारे गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले तालीम उपलब्ध गराएको थियो । हाल जिल्ला अस्पताल स्याङ्जामा भर्खरै सञ्चालनमा आएको हेमोडायलासिसका लागि मिर्गौला अफिसर एक, स्टाफ नर्स दुई र एक सहयोगी गरी चारजना स्वास्थ्यकर्मीद्वारा सेवा प्रदान गरिएको डा मरासिनीले बताउनुभयो ।

“हेमोडायलासिस सेवा शुरु भएको छ तर यसलाई सिफ्ट गरेर सञ्चालन गर्नका लागि अझै स्वास्थ्यकर्मी थप गर्न सकेमा सहजता हुनाका साथै धेरैलाई उपचार गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “जिल्लाका विभिन्न पालिकामा हेमोडायलासिससम्बन्धी तालीम लिएका वा यसबारे जानकार स्वास्थ्यकर्मी रहनुभएकाले उहाँहरुलाई अस्पतालमा ल्याएर पनि सेवा प्रदान गर्न सकिन्छ कि भन्ने सोचमा छौँ ।” एघार वटा पालिका रहेको स्याङ्जामा मिर्गौलाका रोगी यति नै छन् भन्ने आधिकारिक तथ्याङ्क नभएकाले वास्तविक रोगीको तथ्याङ्क सङ्कलन कार्य शुरु भएको डा मरासिनीको भनाइ थियो । स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का ४४ वर्षीय मीनबहादुर गुरुङले शुक्रबारदेखि नै यहाँ निरन्तर डायलासिस गराइरहनुभएको छ । गत वर्षको जेठ ८ गतेदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा डायलासिस गराउँदै आउनुभएका गुरुङले यो सेवा जिल्ला अस्पताल स्याङ्जाबाट प्राप्त भएपछि खुशी हुनुहुन्छ ।

“हप्तामा दुईपटक डायलासिस गर्न पोखरा जानुपर्ने बाध्यता थियो, अहिले जिल्ला अस्पतालबाटै यो सेवा शुरु भएपछि मजस्तै मिर्गौलाको डायलासिस गराउनुपर्नेलाई सहज भएको छ”, उहाँले भन्नुभयो, “यहाँदेखि पोखरा जाँदा बाटोमा कहिलेकाँही असहज महसुस हुन्थ्यो नजीकै भएपछि सहजतासँगै अन्य खर्च पनि कम भएको छ ।” स्याङ्जामा ब्लड बैंक नभएकाले पोखराबाटै रगत ल्याउनुपर्ने बाध्यता भने रहेको गुरुङको भनाइ थियो । गत वर्ष असारबाट मिर्गौलासम्बन्धी समस्या देखिएपछि वालिङ–९ भुम्रेका ४१ वर्षीय शुकबहादुर दमैले पनि पोखरास्थित गण्डकी मेडिकल कलेजमा नियमित डायलासिस गराउँदै आउनुभएको थियो । जिल्ला अस्पतालमा गत शुक्रबारबाट यो सेवा शुरु भएपछि उहाँले जिल्ला अस्पताल स्याङ्जाबाट नै सेवा लिन थाल्नुभएको छ । “डायलासिस गर्न हप्तामा दुई दिन पोखरा जानुपथ्र्यो”, उहाँले भन्नुभयो, “जिल्ला अस्पतालबाट सेवा पाएपछि निकै खुशी छु, सेवालाई आगामी दिनमा प्रभावकारी र नियमित रुपमा अगाडि बढाइदिन सरोकारवाला निकायसमक्ष अनुरोध पनि गर्छु ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij