• Wednesday 9th of September 2026

१२० श्ययाको आइसोलेसन वार्ड निर्माण


  • आशाका किरण

वाग्मती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालले निर्माण शुरु गरेको पाँच दिनमै १२० श्ययाको सुविधा सम्पन्न आइसोलेसन वार्ड स्थापना गरेको छ । अस्पतालले हेटौँडा उपमहानगरपालिकासँग समेत सहकार्य गरेर हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा रहेको छात्रावास भवनमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको हो । केही दिनअघि प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रमुख सचिव डा मानबहादुर विश्वकर्मा, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामालगायत विज्ञ एवं चिकित्सकको टोलीले त्यस क्षेत्रको अवलोकन गरी आइसोलेसन वार्ड सञ्चालनका लागि उपयुक्त हुने ठहर गरेको थियो ।

सामाजिक विकास मन्त्रालय, हेटौँडा अस्पताल र उपमहानगरको संयुक्त टोलीले पाँच दिनमै १२० श्ययाको वार्ड तयार पारेको अस्पतालले जनाएको छ । वार्डमा केही साताअघि लिसा हिमालयन इभीले सहयोग गरेको श्यया प्रयोग गरिएको छ । प्रदेशको प्रदेश कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकको विद्यालयबाट आइसोलेसन तथा क्वारेन्टिन हटाउन भएको निर्णय कार्यान्वयन गर्न तथा जिल्लामा बढ्दो सङ्क्रमित सङ्ख्यालाई ध्यानमा राख्दै आइसोलेसन वार्ड स्थापना गरिएको हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मकवानपुरमा अप्रत्याशित रुपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमितलाई घरमै राख्नुपर्ने अवस्था सिर्जना भएको थियो ।

नवनिर्मित आइसोलेसन वार्डमा नेपाल प्रहरीका नौसहित १२ जना कोरोना सङ्क्रमितलाई राखिएको वार्ड प्रमुख डा सागर काफ्लेले जानकारी दिनुभयो । शुक्रबार साँझदेखि सङ्क्रमितलाई राखेर आवश्यक उपचार प्रक्रिया शुरु गरिएको डा काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार आइसोलेसन वार्ड क्षेत्र परिसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सुरक्षाका लागि खटाइएको छ । यसअघि अस्पतालले हेटौँडा–४ स्थित श्रमिक माविको भवनमा ३५ श्ययाको आइसोलेसन वार्ड स्थापना गरेको थियो । अस्पतालका अध्यक्ष पौडेलका अनुसार आवश्यक परेका अवस्थामा विद्यालय खाली गर्न सकिने भए पनि सो आइसोलेसन तत्काल बन्द गरिनेछैन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij