• Wednesday 9th of September 2026

सुदूरपश्चिममा बढाइयो कोरोना परीक्षणको दायरा


  • आशाका किरण

शुरुआतमा कोरोना सङ्क्रमण मुलुकभित्र फैलिँदा पिसीआर विधिबाट परीक्षणका लागि काठमाडौँलगायत अन्य क्षेत्रका प्रयोगशालाको भर पर्नुपर्ने सुदूरपश्चिम प्रदेशको बाध्यता हट्दै गएको छ । केही समयअघि सम्म धनगढीस्थित पशुपक्षी अन्वेषण केन्द्रमा दैनिक दुई जनाको कोरोना परीक्षण हँुदै आइरहेको भए पनि पछिल्लो सातायता परीक्षणको दायरा बढ्दै गइरहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँ दैनिक दुई हजार ५०० को हाराहारीमा कोरोना परीक्षण भइरहेको बताउनुभयो ।

“अहिले स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा पर्खनुपर्ने अवस्था टर्दै गएको छ ”, उहाँले भन्नुभयो, “धनगढीमा दुई र डडेल्धुरा एक गरी तीन ठाउँबाट कोरोना परीक्षण दिनहँु भइरहेको छ ।” स्वास्थ्य निर्देशनालयका अनुसार आगामी भदौ २ गतेदेखि डोटीमा पनि प्रयोगशाला सञ्चालनमा आउँदैछ । भदौ १० गते बैतडीमा स्थापना भइरहेको प्रयोगशाला पनि सञ्चालनमा ल्याउने तयारी छ । “भदौको दोस्रो साताबाट सुदूरपश्चिममा दैनिक पाँच हजार जनाको कोरोना परीक्षण गर्न सकिने अवस्था हुन्छ”, निर्देशक डा अवस्थीले भन्नुभयो, “अब छिट्टै पाँच ठाउँमा प्रयोगशाला सञ्चालनमा आउँछन् ।” सुदूरपश्चिममा भारतलगायत अन्यत्रबाट आएकालाई क्वारेन्टिनमा राखेर पाँच वा सात दिनमा पिसीआरका लागि स्वाब सङ्कलन भइरहेको डा अवस्थीले बताउनुभयो ।

उहाँले भारतबाट आउनेको ट्राभल हिष्ट्री निकाल्ने काम र स्थापना भइरहेका प्रयोगशालामा जनशक्ति तथा अन्य व्यवस्थापन जेनतेन गरिरहेको बताउनुभयो । एक साताअघि सुदूरपश्चिममा ५७३ जनाको कोरोना परीक्षण गरिएकामा एक जना सङ्क्रमित देखिएको निर्देशनालयले जनाएको छ । “एक सातायताको सङ्क्रमण दर हेर्ने हो भने सङ्ख्या न्यून हँुदै गएको छ”, उहाँले भन्नुभयो, “सचेत भएर नियम पालना गरे सङ्क्रमण नियन्त्रण पनि गर्न सकिन्छ ।” शनिबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी चार हजार ८२९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सोमध्ये हालसम्म चार हजार २०२ जना निको भएर घर फर्किसकेका प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij