• Friday 24th of July 2026

कर्णाली प्रतिष्ठानलाई ‘स्नातकोत्तर तहको चिकित्सा शिक्षा’ सञ्चालनको अनुमति


  • आशाका किरण

नेपाल सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ‘स्नातकोत्तर तहको चिकित्सा शिक्षा’ सञ्चालनको अनुमति दिएको छ । सरकारले प्रतिष्ठानमा ‘एमडिजिपी इन जनरल प्राटिक्स’, ‘एमडी इन एनेस्थेसिया’, ‘एमडी इन पेडियाट्रिक्स’ गरी तीन विधामा स्नातकोत्तर तहको पठनपाठनको स्वीकृति प्रदान गरेको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष डा.निरेश थापाका अनुसार यही साउन ३० गते प्रतिष्ठानका कूलपति एवं प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले तीन विधामा चिकित्सा शिक्षा सञ्चालनको अनुमति दिएको हो । “सो निर्णयबाट अब कर्णाली स्वास्थ्य विज्ञानमा विशेषज्ञ सेवाको अध्ययन अध्यापन कार्यको ढोका खुलेको छ,” शिक्षाध्यक्ष डा.थापाले भन्नुभयो, “यही शैक्षिक सत्रदेखि अब स्नातकोत्तर तहको चिकित्सा शिक्षाको पढाइ गरिनेछ ।”

सरकारको यो निर्णयले प्रतिष्ठानलाई ठूलो उपलब्धि मिलेको भन्दै उहाँले नेपाल सरकारलगायत सम्पूर्ण सहयोगी शुभचिन्तकलाई धन्यवाद ज्ञापन गर्नुभयो । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले स्नातकोत्तर तहको विशेषज्ञ चिकित्सा शिक्षा दिने अवसर प्रतिष्ठान जुम्लालाई मिलेकोमा गर्व लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णालीले अब मुलुकलाई दक्ष चिकित्सक जनशक्ति दिन्छ । यो अवसरका लागि प्रधानमन्त्री, राष्ट्रिय चिकित्सा शिक्षा आयोग तथा प्रतिष्ठानका पदाधिकारी र शुभचिन्तक सबैलाई धन्यवादसहित बधाई ज्ञापन गर्दछु ।”

प्रतिष्ठानका अस्पताल निर्देशक डा.मङ्गल रावलले आयोगको पूर्ण बैठकले गरेको निर्णय प्रधानमन्त्रीले प्रमाणित गरेपछि एमडी.एमएसका पाँच सिटको पक्का भएको बताउनुभयो । बन्दाबन्दी र निषेधाज्ञाकै बीचमा नेपाल सरकारले एमडी÷एमएस कार्यक्रम सञ्चालनको अनुमति दिएपछि कर्णालीमा खुशी छाएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीले मुलुकलाई डाक्टर उपलब्ध गराउने ऐतिहासिक अवसर पाएको छ भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij