• Thursday 10th of September 2026

मसँग यौनसम्पर्क राख्ने कुरा गर्छ, तर म के गरूँ ?


  • आशाका किरण

मेरो एउटा साथी छ । ऊ युएईमा छ । हामी एक–अर्कालाई चाहन्छौं । ऊ केही दिनपछि नेपाल आउँदैछ । ऊ मसँग यौनसम्पर्क राख्ने कुरा गर्छ, तर ममा त्यस्तो चाहना छैन, म के गरूँ ?

६५५४

 

डा. राजेन्द्र भद्रा,

साथीसँगको सम्बन्ध

तपाईंले आफ्नो युएईमा भएको साथीको सन्दर्भमा एक–अर्कालाई चाहने कुरा भन्नुभएको छ, तर तपाईंले आफ्नो र साथीको उमेर उल्लेख गर्नुभएको छैन । तपाईंको साथी विदेश जानुभन्दा पहिले तपाईंहरूबीच  कसरी सम्बन्ध विकास भयो भन्ने कुरा पनि पत्रबाट स्पष्ट हुँदैन । तपाईंले उहाँसँग प्रत्यक्ष भेट्नुभएको छ कि छैन, पत्रमा उल्लेख छैन । तपाईंहरूको पहिले नै भेटघाट भै माया–प्रीति बसेर युएई जानुभएको र सम्बन्धलाई निरन्तरता दिनुभएको हो भने एउटा कुरा हो, तर कतै इन्टरनेट र अनलाइनमै भेटेर सम्बन्ध विकास भएको हो भने अन्य केही कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

तपाईंले मुख्य रूपमा विचार गर्नुपर्ने कुरा तपाईंहरूको सम्बन्ध कत्तिको प्रेममय छ भन्ने हो । यो कुरा अरूले भन्दा तपाईंले नै भन्न सक्ने स्थिति हुन्छ । हामीमा रागरस (हार्मोन) हरूको प्रभावका कारण विपरीत लिङ्गीप्रति आकर्षित हुनु वा आकर्षित गर्न खोज्नु, यौनभावनाको विकास हुनु, विपरित लिङ्गी नजिक बस्न वा स्पर्श गर्न चाहनु मात्र होइन, यौनसम्पर्क राख्न मन लाग्नु जस्ता कुरा हुन्छन् । यो प्राकृतिक कुरा हो । किशोरावस्थामा बारम्बार आकर्षण हुन्छ र कतिपयले यस्तो आकर्षण वा मोहलाई नै वास्तविक प्रेम मान्छन् । वास्तवमा प्रेम बिस्तारै हुने प्रक्रिया हो । प्रेम दुई व्यक्ति साथसाथै हुर्कंदा विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ । प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र सम्बन्धित व्यक्तिलाई सुखी राख्न प्रयत्न गरिन्छ । प्रेममय सम्बन्ध यौनसम्पर्क राख्ने कुरामा मात्र सीमित हुँदैन ।

यौनसम्पर्क गर्न नमान्दा गलत पो हुन्छ कि ?

मानिसमा स्वभाविक रूपमै यौनसम्पर्क राख्ने इच्छा हुन्छ । यस्तो कुरा तपाईंमा पनि होला, तर यौनेच्छा छ भन्दैमा कसैसँग यौनसम्पर्क राखिहाल्नुपर्छ भन्ने छैन । दुई व्यक्तिबीचको सम्बन्धको विकास अनि त्यसमा कत्तिको अन्तरङ्ग हुने अर्थात् भनौं यौनसम्पर्कका कुरा दुवैजनाको सहमतिमा हुने कुरा हो । यहाँ तपाईंको शरीर माथि तपाईंको अधिकार छ भन्ने कुरा पनि बिर्सनु हुँदैन । तपाईं यौनसम्पर्क राख्न तयार नभए स्थितिमा म तपाईंबाट कुनै गलत काम हुने देख्दिनँ । मेरो विचारमा तपाईंले मानसिक तथा सामाजिक रूपमा तयार नभई यौनसम्पर्क राख्दिनँ भन्नु नै उचित हुन्छ ।

तपाईंले एक–अर्कालाई चाहने कुरा गर्नुभएको छ । कसैले शब्दमा भन्ने कुराभन्दा पनि व्यवहारका कुराले मायाको गहिराइलाई देखाउँछ । तपाईंसँग पक्कै पनि यसको अनुभव वा अनुभूति हुनुपर्छ ।

तपाईंहरूबीच वास्तविक प्रेम छ भने तपाईंलाई कुनै पनि किसिमको हानि पुर्‍याउने कुरा तपाईंको साथीबाट गरिँदैन । वास्तविक प्रेमसम्बन्धमा तपाईंले यौनसम्पर्कको प्रस्तावलाई अस्वीकार गरे पनि माया उत्तिकै हुन्छ र तपाईंको भावनाको कदर गरिन्छ अनि यसैका आधारमा सम्बन्धको अन्त्य पनि हुँदैन ।

कस्ता असजिला आउलान ?

यौनसम्पर्कको प्रस्ताव स्वीकार नगर्दा तपाईंलाई सबैभन्दा ठूलो डर यो सम्बन्धले नै निरन्तरता नपाउने हो कि भन्ने हो । सम्बन्ध टुट्ला भन्ने भय तपाईंमा स्वभाविक रूपमै हुनसक्छ । पछि विवाह नै गर्ने हो भने अहिले यौनसम्पर्क राखेर के फरक पर्ला भन्ने पनि लाग्न सक्छ । तपाईंले आफ्नो साथीसँग यौनसम्पर्क राख्न नमानेर आफ्नो माया वा प्रेम प्रदर्शन नगरेको वा प्रेम नै नगरेजस्तो मान्ने स्थिति सिर्जना हुनसक्छ । तपाईं सम्बन्धप्रति प्रतिबद्ध नभएको आरोप समेत लाग्न सक्छ ।

यद्यपि कुरा त्यस्तो होइन । यौनसम्पर्क राख्नु कुनै पनि व्यक्तिका लागि विशेष कार्य हो । अझ यो पहिलो हो भने यसलाई हल्का रूपमा लिनु हुँदैन । यहाँ तपाईंको इच्छा सर्वोपरि हुन्छ, त्यसैले तपाईंको इच्छाविरुद्ध कसैले यौनसम्पर्क राख्ने स्थिति हुनु हुँदैन । बल प्रयोग गरियो भने त्यो बलात्कार हुनजान्छ । तपाईंले विचार गर्नुपर्ने कुरा के हो भने तपाईंलाई प्रेम गर्ने व्यक्तिले बलात्कार गर्दैन, गर्नै सक्दैन । उसले तपाईंको इच्छाविरुद्ध यौनसम्पर्क राख्न दबाब दिन्छ भने उसले तपाईंसँग साँचो प्रेम गर्दैन भन्ने बुझ्नुभए हुन्छ । त्यो सम्बन्ध प्रेमसम्बन्ध होइन ।

समाधान के हुन सक्ला ?

यसका लागि सर्वप्रथम तपाईं आफू के चाहनुहुन्छ, पक्का हुनुपर्छ । तपाईंले आफूलाई यौनसम्पर्क राख्ने इच्छा नभएको कुरा बताउनुभएको छ । तपाईंको मन बदलियो भने पनि समस्या छैन, तर विवाहभन्दा पहिलेको यौनसम्पर्कका असरबाट जोगिन सावधानी अपनाउनुपर्छ । तपाईंले उहाँलाई इन्टरनेट वा फेसबुक आदिमा भेटेर सम्बन्ध विकास भएको हो, प्रत्यक्ष रूपमा भेट्नुभएको छैन भने तपाईंले उहाँलाई वास्तविक रूपमा चिन्न नै समय लगाउनुपर्ने हुन्छ, जसले गर्दा सम्बन्धलाई निरन्तरता दिने कि नदिने निर्णय गर्न सकियोस् ।

अहिलेलाई यौनसम्पर्क नराख्नु नै तपाईंको अठोट हो भने यो कुरा स्पष्ट रूपमा भन्नुपर्छ र प्रेममय सम्बन्धका लागि यौनसम्पर्क राख्नै पर्ने बाध्यता नभएको कुरा सम्झाउनुपर्छ । प्रेम नभएको स्थितिमा सम्बन्धलाई निरन्तरता दिनु आवश्यक पनि हुँदैन । अन्यथा त्यसले तपाईंलाई पछिसम्म कमजोर स्थितिमा पार्न सक्छ । कुनै पनि सम्बन्ध यौनसम्पर्कको जगमा बसाउनुभन्दा प्रेमको जगमा बसाउनु उत्तम हुन्छ । यो सम्बन्धलाई आवश्यक परे निरन्तरता नदिनेसम्मको निर्णयका लागि तपाईं तयार रहनुपर्छ । साप्ताहिकबाट ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij