• Tuesday 8th of September 2026

शिक्षालाई सूचना प्रविधिसँग जोड्न आवश्यक छ:मुख्यमन्त्री शेरधन राई


  • आशाका किरण

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारकालागि प्रविधिमैत्री शिक्षण सिकाइ आवश्यक भएको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालय र स्थानीय तहको साझेदारीमा सञ्चालित सूचना प्रविधि सम्बन्धि अनलाइन शिक्षक तालिमको आज यहाँ शुभारम्भ गर्दै मुख्यमन्त्री राईले विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्री बनाउने अभियानको शुरुवात प्रदेश सरकारले गरिसकेको बताउनुभयो । प्रदेश सरकारले डिजिटल प्रदेशको यात्रा शुरु गरिसकेको उल्लेख गर्र्दै उहाँले भन्नुभयो, “शिक्षालाई सूचना प्रविधिसँग जोड्न आवश्यक छ ।”

मुख्यमन्त्री राईले डिजिटल प्रदेशका लागि नीति तथा कार्यक्रम बनिसकेको जानकारी दिनुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले १० वर्र्षभित्रमा प्रदेशबाट किताब र झोलामुक्त गरिने लक्ष्यअनुसार काम भइरहेको बताउनुभयो । कोरोनाका कारण १० वर्षभित्रको लक्ष्य तीन बर्षभित्रमा पूरा हुने आधार देखिएको उहाँको भनाइ थियो (उहाँले पहिलो चरणमा छ वटा स्थानीय तहका ६०० शिक्षकलाई तालिम शुरु गरिए पनि दशैँ अगावै ३० वटा स्थानीय तहका तीन हजार शिक्षकलाई सूचना प्रविधिसम्बन्धि तालिम दिइने जानकारी दिनुभयो ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, सामाजिक विकास संसदीय समिति सभापति सरिता थापा, इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीलगायतले प्रविधि अनलाइन तालिमले शिक्षक सिकाइमा महत्वपूर्ण उपलब्धि हुने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij