• Thursday 10th of September 2026

मातृशिशु मृत्युदर घटाउन ‘सुसार’ कार्यक्रम


  • आशाका किरण

मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याउनका लागि कोशी अस्पताल विराटनगरमा ‘सुसार’ कार्यक्रम शुरु भएको छ ।

मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याई पहिलो दिनमा हुने नवजात शिशु मृत्युदर घटाउने, मातृशिशु स्याहारमा संलग्न सबै स्वास्थ्यकर्मीलाई नवजात शिशु स्याहारासम्बन्धी ज्ञान तथा सीप बढोत्तरी गर्ने, प्रसूति सेवालाई प्रभावकारी ढङ्गले निगरानी गर्ने र सेवा प्रदान गर्न तथा उचित निर्णय लिन स्वास्थ्यकर्मीलाई शशक्त बनाउने उद्देश्यले प्रदेश नं १ मा पहिलो पटक यो कार्यक्रम लागू गरिएको हो ।

नेपाल सरकारसँग सहकार्य गरेर गोल्डेन कम्युनिटीले यो कार्यक्रम अस्पतालमा शुरु गरेको हो । नेपाल सरकारले हाल रहेको नवजात शिशु मृत्युदर प्रतिहजारमा २१ लाई सन् २०३० सम्ममा प्रतिहजार जीवित जन्ममा १२ र मृत जन्मने शिशुको दर प्रतिहजार १३ मा घटाउने लक्ष्यलाई यो कार्यक्रमले मद्दत पु-याउने बताइएको छ ।

यो कार्यक्रमले अस्पतालअन्तर्गतका मातृृ तथा नवजात शिशु स्याहार वार्डमा गुणस्तर सुधारका लागि चाहिने सीप र प्रविधिलाई प्रयोगमा ल्याई प्रसूति समयको जटिलतालाई गुणस्तरीय व्यवस्थापन गर्न सहयोग पु¥याउने लक्ष्य लिएको छ ।

नेपालमा हरेक वर्ष छ लाख बच्चा जन्मन्छन् । तीमध्ये ११ हजार शिशु मृत अवस्थामा जन्मन्छन भने १३ हजार नवजात शिशु जन्मेको पहिलो हप्तामा मर्ने गरेको गोल्डेन कम्युनिटीले मङ्गलवार यहाँ आयोजना गरेको पत्रकार अभिमुखीकरण कार्यक्रममा सो जानकारी दिएको छ । गोल्डेन कम्युनिटीकी सञ्चार विज्ञ सिर्जना शर्माले करिब १७ प्रतिशत शिशु जन्मेको पहिलो घण्टामा, ५७ प्रतिशत शिशु जन्मेको पहिलो दिनमा र ७९ प्रतिशत शिशु जन्मेको पहिलो हप्तामा मर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । उहाँले नवजात शिशुको मृत्युको कारणमध्ये महिना नपुगी जन्मनु ३१ प्रतिशत, जन्मनसाथ सास फेर्न नसक्नु २३ प्रतिशत तथा सङ्क्रमण १९ प्रतिशत रहेको जानकारी दिनुभयो ।

सुसार कार्यक्रम सातवटै प्रदेशमा आठ वटा सरकारी अस्पतालमा सञ्चालन भइरहेको छ । जसअन्तर्गत कोशी अस्पताल, जनकपुर अस्पताल, भरतपुर अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, प्रदेश अस्पताल कर्णाली, सेती अस्पताल र डडेलधुरा अस्पतालमा लागू भएको छ । यो कार्यक्रम लागू भएपछि विराटनगर अस्पतालमा गएको वर्षमा आठ हजार २५२ नवशिशुमा सात जना शिशु र दुई जना आमाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस कार्यक्रमबाट तालीम र सुपरीवेक्षणद्वारा मातृ तथा शिशु स्याहार संलग्न स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने, भ्रूणको मुटुको धड्कन जाँचका लागि मोयो, नवजात शिशुको मुटुको धड्कन जाँचका लागि नियोबिट तथा जन्मदा सास फेर्न नसकेका शिशुलाई कृत्रिम स्वास–प्रस्वास गराउन अपराइट ब्याग–मास्क जस्ता आधुनिक उपकरणहरुको प्रयोगद्वारा सेवाको गुणस्तर बढाउने, गुणस्तर सुधारका लागि योजना कार्य अध्ययन कार्यान्वयन बैठक आवधिक रुपमा सञ्चालन गर्ने, तालीम पछि विशेष किसिमको मेनीकिनमा नियमित अभ्यासद्वारा कृत्रिम स्वाशप्रस्वाशको सीम कायम राखिराख्नु मद्दत पु¥याउने, नवजात शिशुको स्वास्थ्यको सूचकहरुद्वारा कार्यक्रमको प्रभावकारिताको आवधिक रुपमा समीक्षा गर्ने प्रावधान राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij