• Friday 24th of July 2026

कति यौनसम्पर्क राख्नु ठीक ? दिनमा २/३ पटक यौनसम्पर्क राख्नु समस्या हो की होईन ?


  • आशाका किरण

– डा. राजेन्द्र भद्रा
म विवाहित युवक हुँ । म २३ वर्षको भएँ अनि मेरी श्रीमती २१ वर्षकी । हामी धेरैजसो दिनमा २ देखि ३ पटक यौनसम्पर्क राख्छौं । के यसो गर्दा पछि समस्या सिर्जना हुन्छ ?
–३५९९१

यौनेच्छाको सञ्चालन
तपाईंको प्रश्नको जवाफ दिनुअघि यौनेच्छाका बारेमा केही कुरा गरौं । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन सिस्टम अन्तर्गतका रागरसहरूले यौनेच्छाको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले । यौनेच्छा जाग्ने (विकसित हुने) वा त्यसको व्यग्रतामा रागरस अर्थात् हार्मोनको महत्वपूर्ण भूमिका हुन्छ ।

यौन क्रियाकलापमा भन्दा टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पर्छ । महिलामा पनि टेस्टेस्टेरोनले नै यौनेच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ ।
यसमा स्वाभाविक रूपमै इन्द्रियहरूको महत्वपूर्ण भूमिका हुन्छ । हाम्रा इन्द्रियहरू दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग यौन सम्पर्क वा यौनेच्छासँग सम्बन्धित छन् भन्ने हामीलाई थाहै छ । यौनसम्पर्कलाई ‘शारीरिक सम्बन्ध’ भनिए पनि यसको मानसिक पाटो एकदमै महत्वपूर्ण हुन्छ । यौन उत्तेजनाको स्रोत जे–सुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ ।

वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने यौन उत्तेजनालाई ‘स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो’ भनेर परिभाषित गर्न सकिन्छ । यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाट सुरु हुन्छन् । यौनेच्छा भए पनि अन्य कारण जस्तै कि शारीरिक (यौनसम्पर्क राख्दा पीडा हुने, कुनै रोगव्याधि लागेको वा थकान) वा मानसिक (चिन्ता, तनाव, भय) का कारणले त्यसमा प्रतिकूल प्रभाव पार्छन् ।

अर्कातिर तपाईं र तपाईंकी श्रीमतीको सम्बन्ध तनावपूर्ण भएको स्थितिमा पनि यौन चाहनामा नकारात्मक असर पर्छ । यस्ता कारण भए कारणअनुसार त्यसको समाधान खोजे यौन जीवन सुखमय रहन्छ ।

यौनसम्बन्धी हाम्रा चासो तथा चाहनाहरू मस्तिष्कबाट सुरु हुन्छन् । मस्तिष्कबाटै यौनसम्पर्क राख्ने जस्ता आधारभूत व्यग्रता उत्पन्न हुन्छ । यौन संवेदनशीलतासम्बन्धी कुराका साथै यौनेच्छालाई प्रभावित पार्ने हार्मोनहरूको उत्पादन तथा सञ्चालनमा पनि मष्तिष्कको महत्वपूर्ण भूमिका हुन्छ । यी सबै कुराको संयुक्त प्रभाववाट नै यौनसम्बन्धी क्रियाकलापहरू निर्देशित हुन्छन् ।

कति यौनसम्पर्क राख्नु ठीक ?
यौन स्वास्थ्यका सन्दर्भमा यो एक चिकित्सकलाई प्राय: सोधिने प्रश्न हो । यो व्यक्ति र स्थितिअनुसार फरक हुन्छ । हामीलाई प्यास लागेअनुसार पानी पिउँछौं । धेरै लागे धेरै पटक र त्यति प्यास नलागे थोरै । यौनेच्छा शान्त पार्न आफ्नो आवश्यकताअनुसार धेरै वा थोरै यौनसम्पर्क राख्न सकिन्छ ।

सामान्य दम्पतीले सातामा यस्तै २ दशमलव ५ पटक यौनसम्पर्क राख्छन् । विवाहको तुरुन्तै पछिका जोडीले अलि धेरै यौनसम्पर्क राख्छन् । नयाँ यौन साथी वा विवाह गरेर सँगै बस्न थालेका जोडीले भने दिनहुँ मात्र होइन, एकै दिनमा कैयौं पटक यौनसम्पर्क राख्छन् । तपाईंले विवाह गर्नु भएको कति भयो, खुलाउनुभएको छैन । सामान्यत: विवाह गरेको पहिलो वा दोस्रो वर्षसम्म एक दिन (२४ घण्टा) मा एकपल्ट यौनसम्पर्क राखिन्छ । त्यसपछि भने यो क्रम हप्तामा २ देखि ३ पटकमा झर्छ अनि वयस्क जीवनको लामो समयसम्म कायम रहन्छ । विस्तारै प्रौढ अवस्थामा पुगेपछि भने त्यसमा कमी आउँछ ।

कति बेला अति हुन्छ ?
कतिपय व्यक्तिलाई आफ्नो यौन क्रियाकलाप सामान्य नै भए पनि बढी लाग्न सक्छ, तर कसैको दैनिकी नै बिग्रने वा तनावपूर्ण हुने गरी यौन व्यवहार देखियो भने यौनचाहना बढी भएको स्थिति भन्न सकिन्छ । यौनेच्छा शान्त पार्न यौनजोडीलाई नै धोका दिएर अर्को व्यक्तिसँग यौनसम्पर्क राख्ने, देहव्यापार अनि अश्लील सामग्रीमा निकै खर्च गर्ने मात्र होइन, आफ्नो जीविकोपार्जनका लागि संलग्न कार्यमा ध्यान नदिने वा छोड्ने जस्ता क्रियाकलाप पनि भएको पाइन्छ ।

यौनेच्छा बढेपछि यौन क्रियाकलापमा संलग्न नभैनहुने बाध्यात्मक स्थिति अनुभव गर्नु असामान्य रूपमा यौन चाहना बढी अर्थात अति कामुकता हुने स्थितिको एउटा महत्वपूर्ण लक्षण हो । यस्तो स्थितिमा व्यक्ति आफैंले गरेको आत्मनियन्त्रणको प्रयास सफल हुँदैन् । आफूले चाहेर पनि आफ्नो यौन व्यवहारलाई नियन्त्रण गर्न नसक्ने भए वा त्यस्तो व्यवहारले परिवार वा साथीहरूसँगको सम्बन्धमा नकारात्मक प्रभाव पार्न थाले वा कार्यालय वा व्यवसायको काम वा दैनिकी नै प्रभावित भए वा जहिले पनि विशेष गरेर आफूले नचाहेको बेला पनि यौनसम्बन्धी कुरा मात्र दिमागमा निरन्तर रूपमा आइरहे विशेषज्ञको सहयोगको नलिइनहुने भएछ भन्ने बुझ्नुपर्छ । आशा गर्छु, तपाईंलाई त्यस्तो केही भएको छैन ।
के गर्ने ?

व्यक्तिअनुसार यौन चाहना फरक भएजस्तै उनिहरूको यौन क्रियाकलापमा संलग्नता पनि फरक–फरक हुन्छ । यो स्वभाविक कुरा हो । यौनसम्पर्कको सन्दर्भमा पनि कसैले धेरै पटक यौन सम्पर्क राख्छन् भने कसैले थोरै । आफू तथा आफ्नो यौन जोडीलाई असजिलो नहुने स्थितीमा चाहे जति यौनसम्पर्क गर्न सकिन्छ ।

तपाईंले अहिले जति पटक यौनसम्पर्क गरिरहनुभएको छ त्यतिले तपाईंको यौनेच्छा पूरा गर्न पर्याप्त छैन भने त्यसलाई बढाउन सक्नुहुन्छ भने यदि मन लागेको छैन भने घटाउन सक्नुहुन्छ । दुई व्यक्ति अर्थात् श्रीमान्–श्रीमती दुवै संलग्न हुनुपर्ने भएकाले यसमा दुवैको सहमति र समझदारी पनि त्यत्तिकै आवश्यक छ ।

माथी भनिएजस्तै अति कामुकताको शंका छ भनेचाहिँ चिकित्सकबाट सल्लाह लिनुपर्छ । साप्ताहिकबाट ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij