• Friday 11th of September 2026

जिल्ला कारागारमा कैदीबन्दी र सुरक्षाकर्मीको स्वाब सङ्कलन


  • आशाका किरण

जिल्ला कारागार डोटीमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीको स्वाब सङ्कलन गरिएको छ । पछिल्लो समय कारागारमा विभिन्न मुद्दाका व्यक्तिहरु पुर्पक्षका लागि राखिएका कारण कारागारमा रहेका सबै कैदीबन्दीको कोरोना जाँचका लागि स्वाब सङ्कलन गरिएको हो । कारागार प्रशासन प्रमुख शेरबहादुर बोगटीका अनुसार कैदीबन्दी, सुरक्षामा खटिएका नेपाली सेना, प्रहरी तथा कारागार प्रशासनका कर्मचारी गरी जम्मा २५ जनाको स्वाब सङ्कलन गरी जिल्ला अस्पतालमा रहेको कोरोना परीक्षण प्रयोगशालामा पठाइएको हो ।

जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि कारागारमा कोरोना जोखिम नहोस् भन्ने उद्देश्यले कैदीबन्दीसहित सुरक्षाकर्मीको स्वाब सङ्कलन गर्न शुरु गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले बताउनुभयो । उहाँले भन्नुभयो, “कारागारमा कोरोना सङ्क्रमण देखिए कैदीबन्दीलाई समस्या निम्तिने भएकाले हामीले आजबाट सबैको स्वाब सङ्कलन गरी जाँचका लागि पठाउन थालेका छौँ, आशा छ सबैको रिपोर्ट नेगेटिभ आउने छ ।” कारागारमा कोरोना भित्रिन नदिनका लागि कैदीबन्दी भेटघाटलाई समेत बन्द गरिएको छ । जिल्ला कारागारमा हाल ४५ विभिन्न मुद्दाका कैदीबन्दी जेल जीवन बिताइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij