• Tuesday 8th of September 2026

सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ


  • आशाका किरण

स्याङ्जाको गल्याङ नगरपालिका ७ कल्लेरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ । मगर समुदायको भाषा, लिपी, लिपी र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले बताउनुभयो ।

“पछिल्लो समय मगर समुदायका बालबालिकालाई यसबारे जानकारी नहुँदा मगर भाषा बोल्न जान्दैनन्”, प्रअ रानाले भन्नुभयो, “मगर भाषा संरक्षण गर्न विद्यालयमा यसको पठन पाठन शुरु गरेका हौं ।” विद्यालयले गत माघदेखि कक्षा एकमा पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यपुस्तकलाई आधार बनाएर ऐच्छिकरुपमा एकसय पूर्णाङ्कको मगर भाषाको पठन पाठन शुरु गरेको हो । “कक्षा एकमा अध्ययनरत विद्यार्थीलाई मगर भाषा पढाएका छौं”, प्रअ रानाले भन्नुभयो, “आगामी शैक्षिक सत्रबाट अन्य कक्षाहरुमा पनि ऐच्छिक विषयकोरुपमा मगर भाषा पढाउन शुरु गर्छौं ।”

विद्यालयमा हाल १–३ कक्षा सञ्चालन हुँदै आएको छ । मगर समुदायको बाहुल्यता रहेको गल्याङ नगरपालिकाको उक्त विद्यालय मगर भाषा पढाउने पहिलो विद्यालय रहेको गल्याङ नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार शर्मा आचार्यले बताउनुभयो । मगर भाषा, कला, संस्कृति, लिपीको संरक्षण गर्दै नयाँ पुस्तामा भाषा हस्तान्तरण गर्नका लागि नगरपालिकाले मगर भाषा अध्यापनका लागि एक जना शिक्षक उक्त विद्यालयलाई उपलब्ध गराएको शाखा प्रमुख आचार्यले बताउनुभयो । नगरपालिकाले नेपाली भाषापछिको दोस्रो भाषाकोरुपमा मगर भाषालाई मान्यता दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij