• Saturday 25th of July 2026

पाँच शय्याको कोभिड अस्पताल सञ्चालन


  • आशाका किरण
TOPSHOT - A healthcare worker wearing a protective suit attends to a COVID-19 coronavirus patient at the Intensive Unit Care (ICU) of the Vall d'Hebron Hospital in Barcelona on April 6, 2020. - Spain declared a fourth consecutive drop in the number of coronavirus-related deaths with 637 over the past 24 hours, the lowest number in nearly two weeks. (Photo by PAU BARRENA / AFP) (Photo by PAU BARRENA/AFP via Getty Images)

पर्वतको पैयुँ गाउँपालिकाले पाँच शय्याको कोरोना अस्थायी अस्पताल निर्माण गरेको छ । पैयुँ गाउँपालिकाको केन्द्र हुवासमा कोभिड अस्थायी अस्पताल निर्माण गरिएको हो ।गाउँपालिकाले आफ्ना गाउँपालिकाका कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल निर्माण गरिएको जनाएको छ । अस्पतालमा आवश्यक दुई जना नर्स भर्ना गरिसकिएको र कात्तिक २४ गते चिकित्सकको अन्तर्वार्ता गरेर चिकित्सकसमेतको भर्ना गर्ने तयारी रहेको पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँले दुई नर्स र एक चिकित्सक अस्थायी कोरोना अस्पतालमा करारमा भर्ना गरी सेवा सञ्चालन गरिने बताउनुभयो । हुवास स्वास्थ्यचौकी नजिकै रहेको सामुदायिक भवनमा अस्थायी कोरोना अस्पताल बनाइएको हो । यस्तै हुवासस्थित ज्येष्ठ नागरिक भवनमा १० जना व्यक्ति अट्ने क्वारेन्टिनसमेत बनाइएको पौडेलले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमितलाई यसअघि कुश्माको आइसोलेसनमा पठाउनुपर्ने अवस्था थियो । गाउँमै आइसोलेसन र क्वारेन्टिन बनेपछि गाउँपालिकावासीलाई सहज भएको पैयुँका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताउनुभयो । तिवारीले गाउँमा कोरोना सङ्क्रमण बढ्न नदिन सचेतना र सजगताका विभिन्न अभियान सञ्चालन गरिएको पनि बताउनुभएको छ । कोरोनासँग डराएर नभई सजग भई लडेर जित्ने प्रयत्नमा लागेको तिवारीले जानकारी दिनुभयो ।

तिवारीले कोरोना सङ्क्रमणका बाबजुद विकास निर्माणका कामहरु पनि धमाधम शुरु गरिएको बताउनुभयो । नेपाल सरकारले हरेक स्थानीय तहमा कोरोना अस्पताल बनाउन बजेटसमेत दिएको छ । पर्वतका अन्य स्थानीय तहले पनि अस्पताल निर्माणको प्रक्रिया शुरु गरिसकेका छन् । जिल्लाको सदरमुकामपछि पहिलोपटक पैँयु अस्पताल बनाएर सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij