• Tuesday 8th of September 2026

दोर्दी गाउँपालिकाका विद्यालयमा आजदेखि पठनपाठन शुरु


  • आशाका किरण

दशैँअघिबाट बन्द दोर्दी गाउँपालिकाका विद्यालयमा आजदेखि पठनपाठन शुरु गरिएको छ । कोभिड–१९ ले बन्द भएको पालिकाका सबै विद्यालयमा स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै पठनपाठन शुरु गरिएको हो ।

गाउँपालिका शिक्षा समितिको गत कात्तिक ५ गते बसेको बैठकले कात्तिक ७ गतेबाट बन्द गर्ने र मङ्सिर ३ गतेदेखि सञ्चालन गर्ने निर्णयअनुसार नै पालिकाका विद्यालयमा पठनपाठन शुरु गरिएको गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत भीमप्रसाद लामिछानेले बताउनुभयो । कोरोना सङ्क्रमणको जोखिमका कारण लकडाउन तथा निषेधाज्ञा जारीले गर्दा बन्द रहेको लामो समयपछि गत असोज ११ गतेबाट यस पालिकामा पठनपाठन शुरु भएको केही हप्ता नपुग्दै कोरोनाको कारण पुनः विद्यालय सो समयदेखि बन्द रहेको थियो । आगामी दिनदेखि भने निरन्तर पठनपाठन हुने तयारीमा रहेको र केही दिनमा बैठक बसेर निर्णय गर्ने शाखा प्रमुख लामिछानेको भनाइ छ ।

शिक्षा शाखाका अनुसार २० जना भन्दा कम विद्यार्थी रहेको प्रावि तहको विद्यालयमा नियमित रुपमा पठनपान शुरु हुने भएका छन् । सोभन्दा धेरै विद्यार्थी रहेका निमावि र माविमा जोर विजोरका आधारमा सिकाइ सहजीकरण गरिने भएको छ । पालिकाभर मावि आठ, निमावि नौ र ३५ प्रावि छन् । पालिकामा एउटा निजी आवासीय प्रावि र अन्य सबै सरकारी विद्यालय छ । पालिकाभर तीन हजार ५०० विद्यार्थी रहेका छन् । उहाँले भन्नुभयो, “बिहान दशदेखि दिउँसो ३ बजेसम्म विद्यालयमा पठनपाठन हुन्छ, विद्यार्थीलाई अनिवार्य मास्क, स्यानिटाइजर र साबुन पानीले हातखुट्टा धुनेलगायतका सबै स्वास्थ्य सावधानी अपनाउन लगाइएको छ । पहिलो दिन भएकाले उल्लेखनीय रुपमा भने विद्यार्थी सहभागी भएको छैनन् ।” त्यस्तै, जिल्लाका अन्य पालिकाका विद्यालय सञ्चालनको तयारीमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij