• Tuesday 8th of September 2026

नरैनापुरमा विद्यालय पठनपाठन शुरु


  • आशाका किरण

बाँकेको नरैनापुर गाउँपालिकामा आजदेखि माध्यमिक तहका विद्यालयमा पठनपाठन शुरु भएको छ । कोरोना महामारी सङ्क्रमणका कारण लामो समय विद्यालय बन्द हुँदा प्रत्यक्ष सिकाइ क्रियाकलाप अवरुद्ध भएकाले शिक्षा मन्त्रालयको कार्यढाँचाअनुसार आइतबारदेखि विद्यालय शुरु गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर पहिलो चरणमा माध्यमिक तहका विद्यालय सञ्चालन हुँदैछन् । आइतबारदेखि पहिलो चरणमा लक्ष्मणपुरस्थित आदर्श मावि, मटेहियास्थित महेन्द्र मावि र भोजपुरस्थित जयकिसान माविमा पठनपठान शुरु भएको छ । पछिल्लो समय नरैनापुरमा कोरोना सङ्क्रमण नदेखिए पनि सम्पूर्ण सावधानी अपनाएर जोखिम नबढ्ने गरी विद्यालय सञ्चालन गरिने अध्यक्ष शाहले बताउनुभयो ।

गत कात्तिक २७ गतेको गाउँपालिका शिक्षा समितिको बैठक, मङ्सिर ८ गतेको कार्यपालिकाको बैठक र १२ गतेको माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा, २०७७ मा उल्लेख भएका मापदण्डअनुसार आजदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले जानकारी दिनुभयो ।

प्रत्येक दिन कक्षा शुरु हुनु अगावै स्यानिटाइज गर्ने, प्रत्येक कक्षा कोठाहरुमा स्यानिटाइजरको व्यवस्था तथा अनिवार्य मास्क प्रयोगको प्रबन्ध मिलाइने शाहीले बताउनुभयो । प्रत्येक बेन्चमा दुई जना मात्रै विद्यार्थी बसाउने, एउटा कक्षामा १५ भन्दा बढी बेन्च नराख्ने, प्रत्येक विद्यालयमा एक जना नर्स खटाउने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

स्वास्थ्यकर्मी खटाउनेदेखि मास्क र स्यानिटाइजरको व्यवस्थासँगै समग्र स्वास्थ्य सुरक्षाका जिम्मेवारी स्वास्थ्य शाखालाई दिइएको गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले बताउनुभयो । बाँकेका अन्य स्थानीय तहले पनि विद्यालय सञ्चालनको लागि तयारी गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij