• Friday 11th of September 2026

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो


  • आशाका किरण

चिसो बढेसँगै डडेल्धुरामा निमोनिया, रूघाखोकी तथा दमरोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । चिसो शुरू भएयता अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्दै गएको हो । पहिले दैनिक ३०÷४० जना मात्र निमोनिया, रूघाखोकी तथा दमका बिरामी आउने गरेकामा हाल दैनिक ७०÷८० भन्दा बढी बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको डडेल्धुरा अस्पतालले जनाएको छ । चिसो बढेसँगै डडेल्धुरामा मौसमी रुघाखोकीलगायत अन्य खालका बिरामीको सङ्ख्यामा वृद्धि भएको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टङ्कप्रसाद पन्तले बताउनुभयो । चिसोले बिरामी हुनेमा बालबालिका र वृद्धवृद्धा बढी छन् ।

मङ्सिर पहिलो सातादेखि डडेल्धुरामा विस्तारै चिसो बढ्न थालेपछि मौसमी रूघाखोकी, निमोनिया, ज्वरो आउने तथा अन्य खालका बिरामीको सङ्ख्यामा वृद्धि भएको सूचना अधिकारी पन्तको भनाइ छ । चिसो समयमा बालबालिकामा निमोनियाको समस्या र अन्य व्यक्तिमा रूघाखोकीलगायतको समस्या हुने भएकाले घरपरिवारका सदस्यले हेरचाहमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

चिसोको समयमा भाइरस सक्रिय भएर बालबालिका र वृद्धवृद्धालाई असर पार्ने भएकाले चिसोबाट बच्न न्यानो लुगा लगाउने, तातो, झोलिलो खानेकुरा खानुपर्ने अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशबहादुर विष्टले बताउनुभयो । “चिसोबाट जोगिन स्थानीयवासीले हिटर अथवा आगो बालेर झ्यालढोका हावा नछिर्ने गरेर बन्द गर्छन् । यस्तो अवस्थामा निस्सासिएर ज्यान जाने सम्भावना हुन्छ”, उहाँले भन्नुभयो, “झ्याल खुला राख्नुपर्छ । पानी उमालेर खाने तथा घरवरिपरि सरसफाइ गर्दा रोगबाट बच्न सकिन्छ ।” चिसोमा कोरोना भाइरस सक्रिय हुने भएकाले चिसोबाट बच्न विशेष सावधानी अपनाउनुका साथै रुघाखोकी लम्बिएमा वा स्वास्थ्यमा थप समस्या आएमा स्वास्थ्य संस्थामा गएर उपचार गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij