• Friday 11th of September 2026

जतिसक्दो चाँडो कोभिडविरुद्धको खोप उपलब्ध गराउने तयारीमा छौँ : मन्त्री पौडेल


  • आशाका किरण

अर्थमन्त्री विष्णु पौडेलले सरकार कोभिड–१९ विरुद्धको खोपलाई जतिसक्दो चाँडो सहज उपलब्ध गराउने तयारीमा जुटेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को पाचौँ महासभालाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सरकार सबैलाई सहजरुपमा कोभिडविरुद्धको खोप उपलब्ध गराउने र यो महामारीबाट छिटोभन्दा छिटो नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रित छ ।” उहाँले मुलकको आर्थिक क्षेत्रमा नीजि क्षेत्रको योगदान अतुलनीय रहेको बताउँदै कोभिडविरुद्धको लडाइँमा सरकारलाई सहयोग निजी क्षेत्र, सञ्चार क्षेत्र र आम नागरिकलाई आह्वान गर्नुभयो ।

“यति बेला समग्र मानव जाति कोरोनाको महामारीबाट आक्रान्त छ, आर्थिक, सामाजिक क्षेत्र प्रभावित छ, हामी पनि त्यसबाट प्रभावित छौँ, अहिले कोभिडलाई परास्त गर्दै आर्थिक–सामाजिक जीवनलाई पूर्ववत् अवस्थामा फर्काउन चुनौती बनेको छ”, उहाँले भन्नुभयो । मन्त्री पौडेलले सरकारले नागरिकको जीवन रक्षा र नागरिक सर्वोच्चतालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै कोभिडका बिरामीको उपचारले सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कोरोनाकै बीचमा पनि सरकार उत्पादन र लगानीका क्षेत्रमा काम गर्न सकिने अनुकूल आधार निर्माण गर्नेतर्फ केन्द्रित भइरहेको उल्लेख गर्दै मन्त्री पौडेलले कोरोनाका कारण आर्थिक क्षेत्रले भोग्नु परेको समस्या समाधानतर्फ केन्द्रित भएको पनि प्रस्ट पार्नुभयो । उहाँले कोभिडसँगै देशले भोगिरहेको आर्थिक क्षेत्रलाई उकास्ने गरी रचनात्मक र आलोचनात्मकरुपमा प्रस्तुत हुन सञ्चार क्षेत्रलाई अपिल गर्नुभयो । नाफिजका अध्यक्ष सीताराम भट्टराईले पत्रकारको हकहित, क्षमता वृद्धिसँगै समग्र देशको आर्थिक क्षेत्रको विकासमा सहयोग प¥याउने गरी संस्थाले काम गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij