• Friday 11th of September 2026

त्रिशूली अस्पतालमा कोरोना सङ्क्रमित महिलाले नवजात शिशु जन्माइन्


  • आशाका किरण

त्रिशूली अस्पताल नुवाकोटले कोभिड–१९ सङ्क्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ । तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो । ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् ।

व्यक्तिगत सुरक्षा कवचसहितको सावधानी अपनाएर प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा सुनिता केसी र नर्स सुमित्रा न्यौपानेले ती महिलालाई प्रसूति सेवा उपलब्ध गराउनुभएको थियो । ती सङ्क्रमित महिलाका लागि अलग ‘विशेष आइसोलेशन’ कक्ष तयार गरेर सुत्केरी सेवा उपलब्ध गराइएको थियो ।

कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा क्लिनिक सेवा भए पनि सङ्क्रमितको स्वास्थ्यमा समस्या देखिए पछि काठमाडौँमा पठाइने गरिएको थियो ।

“कोरोना सङ्क्रमित भएका गर्भवतीको नियमित जाँच तथा परीक्षणको सेवा उपलब्ध गराइँदै आए पनि गर्भवतीमा सङ्क्रमण देखिएको सेवाग्राहीलाई सुत्केरी सेवा दिइएको यो पहिलो पटक हो ”, चिकित्सक केसीले भन्नुभयो,“अस्पतालमा हाल उपचारारका लागि अलग आइसोलेशन नभए पनि विशेष आइसोलेशन तयार गरेर सामान्य अवस्थामा नै उहाँ सङ्क्रमित महिलालाई सुत्केरी गराएका हौँ ।”

सेवाग्राहीको वृद्धि

अस्पतालमा गर्भवती परीक्षण र सुत्केरी सेवा लिन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पताल विकास समितिका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेका अनुसार कोभिड–१९को सङ्क्रमण शुरु हुनुपूर्व अस्पतालमा सुत्केरी सेवा लिनेको सङ्ख्या ५०–६० को हाराहारीमा हुने गरेकामा हाल सो सङ्ख्या २०० नाघ्न थालेको छ ।

काठमाडाँैमा गर्भवती जाँच गराउँदै आएका जिल्ला फर्किएसँगै परीक्षण गराउनेको दर पनि बढेको जनाइएको छ । “कोरोनाको जोखिमको कारण फोनमार्फत चिकित्सकसँग परामर्श लिन आग्रह गर्दै आएका छौँ ”, अस्पतालका अध्यक्ष न्यौपानेले भन्नुभयो,“चिकित्सकका परामर्शको आधारमा आवश्यक परेमा मात्र अस्पताल बोलाउदा दैनिक गर्भवती जाँच गर्नेको सङ्ख्या बढ्दो छ ।”

अर्कातर्फ अस्पतालले पछिल्लो एक वर्षदेखि प्रसूति तथा स्त्रीरोग विशेषज्ञमार्फत सेवा उपलब्ध गराउन शुरुआत गरेसँगै सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो ।

यसैबीच अस्पतालले यस साताभित्रै सघन उपचार कक्ष (आइसियू) सेवा शुरुआत गर्ने भएको छ । अस्पतालको स्तरवृद्धि गरी ५० श्यया पु-याइएको छ । यससँगै दश श्ययाको सघन उपचार कक्ष सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij