• Friday 24th of July 2026

विजयादशमी असोज २९ गते, कात्तिक २० मा भाइटीका


  • आशाका किरण

२०७८ सालको विजयादशमी असोज २९ गते शुक्रवार परेको छ ।

नयाँ पात्रोअनुसार घटस्थापना असोज २१ गते परेको छ । फूलपाती २६, महाष्टमी २७ र महानवमी २८ गते परेको छ । कोजाग्रत पूर्णिमा कात्तिक ३ गते परेको छ ।

यस्तै लक्ष्मीपूजा कात्तिक ३० गते परेको छ । गोवर्धनपूजा भोलिपल्ट १९ गते उल्लेख छ । नेपालसंवत् शुरु हुने भएकाले नेवार समुदायले ह्मपूजा यसै दिन गर्छ । २० गते शनिवार भाइटीका परेको छ । अघिल्ला वर्षमा जस्तो तिथि विवाद भने यो वर्ष छैन ।

चैत्रशुक्ल अष्टमीमा मनाइने चैतेदशैँ र नवमीमा पर्ने रामनवमी यो वर्ष दुई पटक परेका छन् । २०७७ मा अधिकमासका कारण चैतमा चैतैदशैँ २०७८ वैशाख ७ गते बुधवार परेको छ । रामनवमी ९ गते परेको छ । यस्तै चैतेदशैँ र रामनवमी चैतमा पनि परेका छन् । चैतेदशैँ २६ गते शनिवार र रामनवमी २८ गते आइतवार परेको छ ।

चैतपूर्णिमा वैशाख १४ गते परेको छ । आमाको मुख हेर्ने दिन (मातातीर्थ औँशी) वैशाखको अन्तिममा (२८ गते) पुगेको छ । यस्तै अक्षय तृतीया पर्व वैशाख ३१ गते परेको छ ।

वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्धजयन्ती जेठ १२ गते परेको छ । तुलसीको दल राख्ने दिन अर्थात् निर्जला एकादशी असार ७ गते परेको छ । काभ्रेको पनौतीमा स्नान गर्ने ज्येष्ठ शुक्ल पूर्णिमा असार १० गते उल्लेख छ । हरिशयनी एकादशी साउन ५ गते परेको छ । गुरुपूर्णिमा ९ गते शनिवार परेको छ ।

नागपञ्चमी साउन २९ गते परेको छ भने जनैपूर्णिमा भदौ ६ मा पुगेको छ । यसैदिन रक्षाबन्धन पनि गरिन्छ । कुशेऔँसी अर्थात् बुबाको मुख हेर्ने दिन २२ गते मंगलवार परेको छ । तीज अर्थात हरितालिका व्रत २४ गते उल्लेख छ भने ऋषिपञ्चमी व्रत २६ गते परेको छ ।

सोह्रश्राद्ध अर्थात् पितृपक्ष असोज ५ गते शुरु भई २० गते समाप्त हुने पञ्चाङ्गहरूमा उल्लेख छ ।

हरिबोधिनी एकादशी कात्तिक २९ गते परेको छ । चतुर्मास समाप्ति हुने पूर्णिमा अर्थात् कार्तिक शुक्ल पूर्णिमा मंसिर ३ गते उल्लेख छ । बालाचतुर्दशी पर्व मंसिर १७ गते परेको छ । मिथिलाञ्चलको महान् पर्व विवाहपञ्चमी २२ गते बुधवार परेको छ । तीर्थमा श्राद्ध गर्ने पौष कृष्ण औँसी पुस १८ गते उल्लेख छ ।

माघस्नान शुरु हुने पौष शुक्ल पूर्णिमा माघ ३ गते परेको छ । यही दिन श्रीस्वस्थानी व्रत शुरु हुन्छ । काठमाडौँको साँखु र भक्तपुरको हनुमानघाटमा माधवनारायणको व्रत शुरु हुन्छ । वसन्तपञ्चमी अर्थात् सरस्वतीपूजा माघ २३ गते परेको छ । स्वस्थानी र माधवनारायण व्रत समाप्ति पूर्णिमा फागुन ४ गते परेको छ ।

महाशिवरात्रि पर्व फागुन १३ गते सोमवार परेको छ । फागुपूर्णिमा चैत ४ गते शुक्रवार परेको छ । काठमाडौँ उपत्यकाको पर्व घोडेजात्रा चैत १८ गते परेको छ ।

यो वर्ष भाद्र शुक्ल पक्ष १३ दिनको मात्र रहेको छ । यसलाई विश्वघस्र पक्ष भनिन्छ ।

२०७७ को माघको अन्तिममा पूर्वमा अस्त भएको शुक्र वैशाख ५ आइतवार पश्चिममा उदय हुनेछ । पुस २१ गते बुधवार शुक्रवार पश्चिममा अस्त हुने शुक्र २७ गते पूर्वमा उदय हुनेछ । यस्तै फागुन १० गते पश्चिममा अस्त हुने बृहस्पति चैत ९ गते पूर्वमा उदय हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij