नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मूल विचार र रणनितिलाइ नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खाएको बताउनुभएको छ ।
नेकपाले काठमाडौँमा आयोजना गरेको कम्युनिष्ट आन्दोलनमा सहकार्य, एकता र पुर्नगठन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आफ्नो पार्टी पछिल्लो समय रणनीति बिर्सेर सत्ता बनाउने र ढलाउनेमा लाग्नु गम्भीर भुल भएको बताउनुभयो । संयोजक प्रचण्डले जनयुद्धमा हुँदा सामन्तवादलाइ परास्त गर्ने रणनिति लिएको भएपनि त्यसको प्राप्तीका निमित्त कार्यनिति बनाएर अघि बढ्दा जनयुद्धमा सफल भएको तर अहिले रणनितिलाइ कार्यनिति र कार्यनीतिलाइ रणनीति जस्तो बनाउँदो कम्युनिष्ट आन्दोलनले धक्का खाएको स्विकार गर्नुभयो । उहाँले विगतको अनुभवबाट गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कम्युनिस्टहरू कार्यनीतिको चक्करमा अल्झिँदा विरोधीहरू नेपालमा कसरी कम्युनिस्टहरूलाई ध्वस्त पार्न सकिन्छ भनेर रणनीतिमा लागेको आरोप समेत लगाउनुभयो ।
