नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन २०८२ को दोस्रो दिनकोलगभग लगभग अन्त्यतिर आइपुग्दा विशेष अधिवेशन पक्षधरहरू स्पष्ट रुपमा ६२% भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति जुटाउन सफल रह्यो।आँकलनहरू अनेक थिए गणपूरक सङ्ख्या जुट्छ जुट्दैन अन्योल नै थियो, अब स्पष्ट रुपमा पुगिसकेपछि यो विशेष अधिवेशनको वैधता स्थापित भएको छ।
अन्योलबाट सुरु भएको अधिवेशनले वैधतामात्रै पाएको छैन, विशेष अधिवेशन पक्षधरको मनोबलल लाई समेत आकाश छुवाएको छ । विशेष अधिवेशन पक्षधर अत्यन्तै खुसी र आल्हादित छन्। हुन पनि किन नहुनु ? एउटा ठूलै जोखिम मोलेर आफ्नो सम्पूर्ण राजनीतिक करियरलाई धरापमा राखेर यो अधिवेशनमा भेला भएका थिए। उनीहरूको हिम्मतले सार्थकता पाएको छ र ठूलै युद्ध पनि जितिसकेका छन्। एउटा ठूलो युद्ध जितिसकेको योद्धाले खुशी प्रकट गर्नु, नारा लगाउनु, आवेशमा आउनु स्वभाविक हो। तर होस् गुम्यो भने आफैंलाई ठूलो क्षति पनि हुन सक्छ भन्ने चाहिँ हेक्का राख्नु पर्छ।
बीपीको सोच केपीको सादगी र गणेशमानको हिम्मत बोकेर नेपाली कांग्रेसको क्रियाशील सदस्यताता ग्रहण गरेको कुरा यस महाधिवेशनका कमाण्डरले हिजो व्यक्त गर्नु खुसीको कुरा हो। बागमतीमा हिजोभन्दा आज अलिकति बढी पानी बगेको छ। सायद थोरै धमिलो पनि अब हेर्नु छ, हिजो भाषणमा बोलेको कुरो कार्यान्वयनमा जाने बेलामा कसरी प्रतिक्रिया दर्शाउँछन ? बोल्न जति सजिलो छ गर्न त्यति नै सजिलो कहिल्यै हुँदैन। अझ उन्माद चढेको बेलामा त विवेक प्रयोग गर्न झनै कठिन हुन्छ। अब चुनौती बढेको छ, मूल्याङ्कन गर्ने ! हिजो बगेको बागमती आज पनि उस्तै देखिन्छ ? कि आज अलिकति बढी धमिलो देखिन्छ ? कि यो बागमतीलाई अझै सफा बनाउनु छ भन्ने महशुस हुन्छ ?
हिजो बेलुका गगन थापाको भाषण सुन्दै गर्दा मलाई लागेको थियो। यिनी अहिलेको राजनीतिमा जुर्मुराउँदै उठेका रवि र बालेनको सबैभन्दा प्रभावकारी र राम्रो विकल्प हुन सक्छन्। हिजोभन्दा आज समय अलिकति परिवर्तन भएको छ। कार्यकर्ताहरूको आत्मबल पनि परिवर्तन भएको छ। उनीहरूको सोचाइ पनि परिवर्तन भएको छ। गएको निर्वाचनमा आफू नेपाली कांग्रेस हुँदाहुँदै हसिया हथौडामा भोट माग्न गएका सहकर्मी साथीसँगै कुरा गर्दा उहाँ सबै मिलेर जानुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो। आज भृकुटी मण्डप वरिपरि घुम्दै गर्दा हिजोको त्यही साथी, “हामीले हाम्रो शक्ति देखाएका छौं, नेतृत्वलाई विस्थापित गरेका छौं र आजबाट नयाँ नेतृत्व चुन्छौँ भन्दै हुनुहुन्छ। यो त एउटा प्रतिनिधि उदाहरण मात्रै हो महाधिवेशन प्रतिनिधिको ! कार्यकर्ता को हरपल वदलिइरहन्छ । अघि मात्रै पसलबाट फुक्कै खान किनेको चाउचाउ अहिले पकाएर खान्छु भनेको जस्तै I तर नेताले पसलबाट चाउचाउको प्याकेट किन्ने होइन। खेतमा धान फलाउनुपर्छ। रुखमा फल फलाउनुपर्छ ।खेतको धान छ महिनामा पाक्ला तर रुखमा फल फलाउन वर्षौं प्रतिक्षा गर्नुपर्छ। त्यो धैर्यता नेतृत्वले देखाउनु आवश्यक छ।
विद्वान अरुलाई परेको देखेर सिक्छ, मूर्ख आफूले भोगेपछि मात्रै चेत्छ। कसरी चेत्ने त्यो व्यक्तिको आफ्नो छनौट हो। रवि लामिछानेले हरेक पल्ट हतारमा निर्णय लिए। र हरेकपल्ट पछुताए पनि । लोकप्रियताको लागि टेलिभिजन कार्यक्रम चलाउन हतार र छोडन पनि हतार, बालेनको सफलता देखेपछि पार्टी खोल्न हतार, सांसद बनेपछि मन्त्री हुन हतार, उपप्रधानमन्त्री भएपछि प्रतिशोध साध्न हतार, जेनजी आन्दोलनपछि जेलबाट बाहिर निस्किन हतार ! नतिजा, अहिले उनी आफू कसैगरी प्रधानमन्त्री हुन नसक्ने अवस्थामा पुगेका छन्। त्यसैले त बालेनलाई अगाडि सारे । अहिले ठिक त्यही अवस्थामा महामन्त्री गगन थापा छन्। किस्तीमा नेपाली कांग्रेसको सभापति पद छ, हतार गर्ने कि नगर्ने ? आठ हप्तापछि हुने चुनावमा बाँड्न पाउने टिकटहरु छ, हतार गर्ने कि नगर्ने ? सबैबाट पाइने वाहवाई र सम्मान छ, हतार गर्ने कि नगर्ने ? रात रहे अग्राख पलाउला, हतार गर्ने कि नगर्ने ? यतिका वर्षको राजनैतिक दौडधुप पछि थालमा पस्किएको खानेकुरा खाने कि छाड्ने ?
बीपी, गणेशमान र किसुनजीविरासत थाम्ने हो भने, उनीहरूको विचार साँच्चै गगनको मनमा छ भने, उनले विवेक प्रयोग गर्नैपर्छ। किस्तीमा राखेको माला आफ्नै हातले आफ्नो गलामा लगाउनु भन्दा आफूभन्दा ठूलाले लगाइदिए भने माला र माला लगाउने व्यक्ति दुवैको इज्जत बढ्छ। त्यसैले यो कुरा विचार गर्ने जिम्मा उनैमा छोडौँ। राजनीतिको रुखमा फल फलाउन दुई दिन काफी हुँदैन। यो विशेष अधिवेशन आह्वानकर्ताले राम्रैसँग बुझेका छन र बुझ्नु पर्छ , चुनावको टिकट नै बाँड्न पनि हिजोकै शैलीमा एकलौटी गर्ने त होइन होला ! भृकुटी मण्डपको आजको भिडमा देखिएका मान्छे मात्रैले चुनाव जित्न पर्याप्त हुँदैन होला। चुनाव जित्नको लागि हिजो सँगै मत माग्न हिँडेका मान्छेहरु पनि चाहिन्छन् होला। त्यसपछि ती बाहेकका मत हाल्ने मान्छेहरु पनि चाहिन्छन् होला। यो विशेष अधिवेशनले उनीहरूलाई नेता बनाइसकेको छ। नेपाली कांग्रेसलाई हाँक्ने उनीहरूले नै हो। हिजो हाँक्नेहरू त अब उनीहरुका सारथी हुनेछन ।
निर्विवाद अब नेपाली कांग्रेसको सभापति गगन थापा नै हुन्। तर रवि लामिछाने जस्तै हतार गरेर अल्पायुको सभापति आजै बन्ने, आधा नेपाली कांग्रेसको मात्रै सभापति बन्ने, केहि समय प्रतिक्षा गरेर सिङ्गो नेपाली कांग्रेसको सभापति बन्ने ? छनौट नितान्त उहाँको व्यक्तिगत रहनेछ। तर उनको छनोटले भाग्य भने नेपाली कांग्रेस अनि सिङ्गो नेपालको निर्धारण गर्नेछ ।
प्रल्हाद खनाल, क्रियाशील सदस्य नेपाली काँग्रेस , काठमाडौँ क्षेत्र नम्बर २
