नेपाली राजनीतिक इतिहासको हरेक घटनाको साक्षी, साक्षी मात्रै कहाँ हो र ? अझ भन्नुपर्दा निर्णायक नै रहेको, देशको सबैभन्दा ठूलो, जेठो राजनीतिक दल, नेपाली काँग्रेस, अहिले विशेष अधिवेशन र नियमित अधिवेशन भन्ने दोहोरीमा रुमलिएको छ। देशलाई सधैं निकास दिएको नेपाली काँग्रेस , अन्योल र अनिश्चितताको भुमरीमा फसेर आफैं निसासिएको छ। अधिवेशन हुन्छ या हुन्न ? पार्टी टुक्रन्छ या टुक्रिदैन ? यो संशय र दुबिधा यसका हरेक नेता कार्यकर्ताहरू चिन्तित र त्रसित भएका छन् ।
देशको जेठो र बूढो पार्टी नेपाली काँग्रेसले पछिल्लो समय, देशलाई नेतृत्व र सही मार्ग निर्देश गर्ने भन्दा पनि प्रमुख प्रतिपक्षी दलसँग मिलेर सत्तारोहण गर्ने र नयाँ र परिवर्तनकामी भनिन चाहने दलहरूसँग दुश्मनी गर्ने बाटो अवलम्बन गर्यो। उसको यो नीतिले नेतृत्वलाई सामाजिक र राजनीतिक आलोचनाको शिकार मात्र बनाएन पार्टीलाई नै इतिहासकै सबैभन्दा जोखिमपूर्ण मोडमा उभ्यायो। देशमा भएको यति ठूलो आन्दोलनले सम्पूर्ण समाज परिवर्तित र धुर्वीकृत हुँदा छुवाछुत र भेदभाव हटाउन ठूलो सङ्घर्ष र तपस्या गरेका पुराना राजनीतिक दलहरू अहिले अछूत जस्तै ठानिएका छन्। एउटा ठूलो राजनीतिक दल नेकपा एमालेले आफ्नो अधिवेशन सम्पन्न गरिसक्दा, नेपाली काँग्रेस भने कुहिरोको कागजस्तो अलमलिएको छ ।पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशन आह्वान गर्दै सही निकास सहित नेतृत्व हस्तान्तरण गरी वाहवाही कमाउनुको साटो अझै पनि फेरि प्रधानमन्त्री बन्छु भन्ने लालसा जस्तो देखिने हर्कत गर्नुबाट नेपाली काँग्रेसलाई अझै ठूलो क्षति पुग्ने अवस्था छ।
जुवाको खालमा सर्वस्व हार्न लागेको आफ्नो बाबुबाट अधिकार खोसेर घरलाई जोगाउने जिम्मेवारी छोराहरूले लिनुपर्छ नै ! यही जिम्मेवारी लिने साहस र हिम्मत गरेका महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्माले नेतृत्व गर्दै यो अन्योलबाट पार्टीलाई निकाल्न र नेतृत्व विकास गर्न खोजेका छन । तर उनीहरुको यो चाहनालाई, शीर्ष नेतृत्वले कहिले बुढो बाबुलाई घरबाट निकाल्न गरिएको प्रयासको संज्ञा दियो, त कहिले नेतृत्व हत्याउन गरिएको षड्यन्त्र पनि भन्यो। जे होस् यी परिवर्तनकामी दुई युवाले नेपाली काँग्रेसलाई नेतृत्व दिने हुटहुटी लिएर अघि त बढेकै थिए अब हरेक जोखिमको सामना गर्ने अठोट पनि लिए। यही अठोटबाट नेपाली काँग्रेसको विशेष अधिवेशनको माग गरियो। विशेष अधिवेशन माग गर्दा पुरानालाई पन्छाउने र नयाँलाई ढोकाथुन्ने जस्तो भावना देखियो।
नियमित अधिवेशनकै माग गरिएको भए कहीँ कतै कसैले चित्त दुखाउने बाटो हुने थिएन। खैर जे भयो भयो । काम गर्ने बाटै कहिलेकाहीँ गल्ती पनि हुनसक्छ , तर यो गल्ती सही उद्देश्यका साथ भएको मान्नुपर्छ। अहिले हरेक दिन हरेक घण्टा हरेक मिनेट र हरेक सेकेन्ड विशेष अधिवेशन पक्षधरको मत बढ्दै गइराखेको छ। पुरातन नेतृत्व डिफेन्सिभ मोडमा उभिन बाध्य भएको छ। यी परिवर्तन कामीले साँच्चै जोखिम उठाए या दरिलो खुट्टा के के भने, नेपाली काँग्रेस पुनः एकपल्ट टुक्रिने निश्चित छ । टुक्रिने मात्रै पनि के भन्नु एउटा सानो हिस्सा पुरानो नेतृत्वसँग बाँकी रहनेछ। सिङ्गो पार्टी त यही विशेष अधिवेशन पक्षधरकै भागमा पर्ने देखिन्छ।
हुन त नेताहरूले भनेकै छन् हामी विष पिएर भएपनि पार्टीलाई जोगाउनेछौँ। भनाई बडा सजिलो छ र सबैको प्रिय पनि। तर यो काम गर्नु त्यति नै कठिन पनि छ। यो वचन पूरा गर्नु भनेको नेतृत्वबाट हात धुनु पनि हो।आफ्नो हातमा आउँदै गरेको, नेतृत्व नै छोडेर नेपाली काँग्रेसलाई, यो निश्चित फुटबाट कसले जोगाउने पहल गर्छ ?
अव विशेष अधिवेशन होस या नहोस् । पार्टीको नेतृत्व पाओस या नपाओस विशेष अधिवेशन पक्षदरले नेपाली काँग्रेसको पुरातन नेतृत्वलाई जरैदेखि हल्लाएको छ। नैतिक विजय प्राप्त गरिसकेको छ। युद्धमा जसले जित्छ उसैको नेतृत्वलाई सबैले मान्नुपर्छ। यो नियमित चलन हो। तर कहिलेकाहीँ विजयको उन्मादले उत्तेजित र उत्सृङ्खल हुँदा अरुलाई झनै बिझाउने पनि हुनसक्छ। कसैलाई पनि यो दुखाई अनुभूत भएको खण्डमा दुःखी हरु जिम्मेवार नबन्न सक्छन् । त्यसैले यो बेला उन्मादले नाच्ने होइन। संयमले मन जित्ने बेला हो । विशेष अधिवेशनको माग भएको छ, देशभरिबाट प्रतिनिधिहरू आउने क्रम छ, महामन्त्रीहरूले भन्नु पनि भएको छ। “यो अधिवेशनमा घर बाहिरका कसैलाई बोलाएर रमिता गरिन्न। विजय उत्सव मनाइन्न।बरु आफ्नै पार्टीका जेष्ठ नेतृत्वहरूलाई निम्तो गरिन्छ।”
आशा गरौं पुस २७ गते सबैजना आउनुहुन्छ । सँगै बस्नुहुन्छ । अनि फागुन २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीकोलागि अघि सारेर चुनावमा जाने निर्णय गर्छ । सबैले कार्यकर्ताहरूलाई एकजुट भएर निर्वाचनमा जान आह्वान र निर्देशन गर्नुहुन्छ । विशेष अधिवेशन पक्षधरको जित हुन्छ। पुरानो नेतृत्व जो वैशाखमा नियमित अधिवेशन भन्दै छ, उसको पनि जित हुन्छ। पार्टी फुट्ला कि भनेर चिन्तित नेपाली काँग्रेसको कार्यकर्ता ? उनीहरूको त झन् वास्तविक जित हुन्छ। “एक मन – एक मिसन ” नेपाली काँग्रेसको निर्वाचन अभियान ! शानदार बहुमतका साथ जित हुन्छ।
बैशाखमा केन्द्रीय समितिले भनेको जस्तै नेपाली काँग्रेसको नियमित अधिवेशन हुन्छ। नेतृत्व हस्तान्तरण हुन्छ । अधिवेशनमा सबैको विजय हुन्छ। कोही हार्दैन, सबैले जित्छ। नेपाली काँग्रेसले जित्छ। र सम्पूर्ण नेपालीले जित्छन्। नेपाल देशले जित्छ। जय नेपाल !
प्रल्हाद खनाल, क्रियाशील सदस्य नेपाली काँग्रेस , काठमाडौँ क्षेत्र नम्बर २
