नेपाली समाजमा मनुस्मृतिको अध्ययन र मनन नै नगरी यसको आलोचना गरेको पाइन्छ । मनुस्मृतिले महिलाहरूलाई दोस्रो दर्जाको मानवको रूपमा व्यवहार गरेको आरोप पनि लगाइन्छ ।
मनुस्मृति वैदिक हिन्दू धर्मको कानुनसंग्रह हो भन्दा अत्युक्ति नहोला । हिन्दू धर्ममा चर्चित र विभिन्न सन्दर्भमा आधार लिइने मनुस्मृतिमा महिलाअधिकार, समावेशिता र उनीहरूको सम्मानका थुप्रै सन्दर्भ आउँछन् ।
सहस्रं तु पितृृन् माता गौरवेणाऽतिरिच्यते (२\१४५) अर्थात् जन्म दिने आमा बाबुभन्दा पनि हजार गुणा गौरवकी वा पुजनीय हुन्छिन् भनेका छन्, मनुले। आफूलाई जस्तोसुकै पीडा भए पनि जन्म दिने आमालाई दुःखी बनाउनुहुँदैन (२\२२५) भन्ने वचन पनि महत्त्वपूर्ण छ । आमाले सहेको कष्टको बदला त वर्षौं तिरेर पनि सम्भव हुँदैन । माता पृथिव्या मूर्तिः भन्ने वचनले आमा पृथ्वीकै स्वरूप हुन् भन्ने सन्देश प्रवाह गर्छ ।
आमामात्र होइन दिदीबहिनी, छोरीबुहारी आदि महिलाका अन्य रूपलाई कुनै पनि बहानामा कष्ट पुर्याउन नहुने मनुको मान्यता छ ।
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र रमन्ते देवताः ।
यत्रैस्तास्तु न पूज्यन्ते न पूज्यन्ते सर्वास्तत्राऽफलाः क्रिया।। (३\५६)
अर्थात् जहाँ महिला पुजिन्छन्, जहाँ उनीहरूको सम्मान–सत्कार हुन्छ, त्यहाँ देवता पनि खुशी हुन्छन्। चाहेका सबै कुरा सहजै सम्पन्न हुन्छन्। यसको विपरीत जहाँ महिलाको अपमान वा तिरस्कार हुन्छ त्यहाँ गरिएका सबै कार्य विफल हुन्छन् ।
जहाँ महिला पुजिन्छन्, जहाँ उनीहरूको सम्मान–सत्कार हुन्छ, त्यहाँ देवता पनि खुशी हुन्छन्। चाहेका सबै कुरा सहजै सम्पन्न हुन्छन्। यसको विपरीत जहाँ महिलाको अपमान वा तिरस्कार हुन्छ त्यहाँ गरिएका सबै कार्य विफल हुन्छन् ।
यसअघिको श्लोकमा पनि कल्याण चाहने बाबु, दाजुभाइले आफ्नो घरकी कन्याको सत्कार गर्नुपर्ने र पति, ससुरा, देवर र जेठाजुले पनि विवाहिता स्त्रीलाई कष्ट दिन नहुने बताइएको छ । छोरी, दिदीबहिनी, पत्नी, बुहारी आदि महिला शोकग्रस्त भइरहने घर चाँडै नष्ट हुने सन्दर्भ यहाँ आउँछ । महिला शोकाकुल भए उनीहरूको आँसुले श्राप दिने र त्यो श्रापले घरमा भलो नहुने उल्लेख छ । मनोवैज्ञानिक पक्षबाट हेर्दा पनि महिला पीडित भएका घरहरूमा शान्ति भएको देखिँदैन ।
दोस्रो अध्यायको १३८ औँ श्लोकमा वृद्ध, विद्वान्, भारवाहक आदिलाई जस्तै महिलालाई बाटो छोडिदिनुपर्छ भनिएको छ । महिलाले गर्न हुने वा नहुने विषयमा चर्चा गर्दा मनुले मद्यपान, दुर्जनको सम्पर्क, पतिबाट टाढा, एक्लै भ्रमण र अर्काको घरको वासबाट दूर रहन सन्देश दिएका छन्। यस्ता सन्देश त पुरुषलाई पनि दिइएकै हुन्छ यसमा अन्यथा मान्नुपर्ने देखिँदैन ।
पिता रक्षति कौमारे भर्ता रक्षति यौवने ।
रक्षन्ति स्थावरै पुत्त्रा न स्त्रीस्वातन्त्र्यमर्हति ।। (९\३)।
बाल्यकालमा पिता, यौवनमा पति र वृद्धावस्थामा सन्तानले महिलाको रक्षा गर्नुपर्ने यस श्लोकको गलत व्याख्या हुँँदै आएको छ। शारीरिक वा सामाजिक कतिपय दृष्टिले महिलाको संवेदनशीलतामाथि ध्यान दिँदै उनीहरूको रक्षा गर्नुपर्ने मनुको निर्देश हो । कमजोर वा अबला देखाउन खोजिएको नभई महिला कुनै पनि अवस्थामा अरक्षित हुन योग्य होइन भन्ने भाव हो। त्यसो त पुरुषसम्बन्धी प्रसङ्गमा पनि रक्षा गर्ने व्यक्तिहरूको उल्लेख भएकै छ ।
बालिकालाई घरमै पिता, माता वा दाजुले शिक्षा दिने सन्दर्भ धर्मशास्त्रमा आउँछन्। यसरी हेर्दा हिन्दू समाजले महिलालाई शिक्षा दिन–लिनबाट रोकेको आरोप पनि सत्य होइन । छोरीलाई उचित शिक्षादीक्षा तथा र आमाले व्यवहारोपयोगी कलाहरू सिकाउनुपर्ने विधान वैदिक धर्ममा छ ।
उमेर पुगेकी छोरीलाई योग्य वरसँग विवाह गरिदिने कर्तव्य पनि माइतीको नै हो । गुणहीन वरलाई दिनुभन्दा छोरीलाई घरमै रहनु दिनु बेस भन्ने प्रसङ्ग पनि यहाँ (९\८९) आउँछ । कुल र विद्यादि गुणले सम्पन्न रूपवान्, सजातीय वरलाई शास्त्रविधानले कन्याको पाणिग्रहण (बुढीऔंला वरको हातमा राखिदिएर सुम्पिने काम) गर्न निर्देश छ ।
देवदत्तां पतिर्भायां विन्दते नेच्छयाऽऽत्मनः ।
साध्वीं विभृयान् नित्यं देवानां प्रियमाचरन् ।। (९\९५)
अर्थात् आफ्नो इच्छाले होइन देवताले दिएर पत्नीको प्राप्ति हुन्छ। त्यसैले संधैभरि पत्नीलाई प्रसन्न राख्नुपर्छ । मृत्यु नभएसम्म पतिपत्नीले परस्परमा अतिक्रमण हुने काम नगर्नू (९\१०१) भन्ने निर्देश पनि मनुले गरेका छन् ।
ऐश्वर्य चाहनेहरूले पत्नीलाई हरपल खुशी राख्नुपर्छ । आत्मिक सुखका साथै भौतिक सुखलाई पनि मनुले उल्लेख छ । यथाशक्य भौतिक सामग्रीले पनि उनीहरूको मानसिक वा शारीरिक सत्कार गरिरहनुपर्छ । सन्तान, धर्मकार्य, पतिको उन्नति प्रगति र सम्भोग कार्य पनि महिलाकै हातमा हुने भन्दै उनीहरूको प्रसन्नताविना यी सख प्राप्त हुँदैनन् भन्ने (९\२८) मनुको मान्यता छ ।
दासी नभई पुरुषको अर्धाङ्गिनीको रूपमा वा निर्णायकको रूपमा महिलाको महत्त्व उजागर गरिएको छ । मनुले पुरुष र महिलाको सहअस्तित्व कायम हुने थुप्रै उदाहरण दिएका छन् ।
महिलालाई जबरजस्ती गर्ने पुरुषलाई हदैसम्म (अंग काटिदिने वा मृत्युदण्ड नै दिने) को सजायको विधान मनुस्मृति(८\३६४) ले गरेको छ। मृत्युदण्डको सजाय नभए पनि यौनजन्य हिंसामा हदैसम्मको कारवाही गर्न चुक्न नहुने मनुको भनाइ छ । महिलाका संवेदनशील अंगमा छुने आदि कार्यमा पनि पीडकलाई शारीरिक दण्ड वा जरिवानाको भागीदार बनाउने(८\३६७) विधान छ ।
