आज मातातीर्थ औँसी । छोराछोरीले बिहानै नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।
प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा आमाको मुख हेर्ने पर्व मनाइन्छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र आमाले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको छ ।
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ ।
औँसी किन महत्त्वपूर्ण ?
सूर्य र चन्द्रमा एउटै राशिमा पर्ने दिन औँसी हो । संस्कृतमा यसलाई अमावस्या भनिन्छ । औँसीका दुई भेद बताइएका छन् । सूर्योदयभन्दा पहिले चन्द्रमा रेखास्वरूपमा देखिए ’सिनीवाली’ भनिन्छ । चन्द्रमाको अवशेष नै नदेखिने औँसी ’कुहू’ हो।
औँसी तिथिका स्वामी पितृ हुन् । शास्त्रले बताएका निषिद्ध कार्यहरू नगरेर ‘औँसी बार्ने’ चलन छ । औँसीका दिन बिहानै उठेर स्नान गरी पितृहरूको स्मरण गर्दै तर्पण गर्ने जस्ता चलन गाउँघरमा अझ पनि चलेकै देखिन्छ । आमाबाबु नहुनेले औँसीको दिन खनजोत नगर्ने, नित्यपूजामा शंखघण्ट नबजाउने, हाँडी नबसाल्ने, बेलुकी भात नखाने, लुगा नधुने र सम्भोग गर्न नहुने मान्यता छ ।
आँंसीका दिन ‘खाद्यान्न सुकाउँदा कीरा लाग्दैन’ भन्ने विश्वास गरिन्छ। औँसीमा श्राद्ध सनातन धर्ममा औँसी तिथिलाई पितृको उपासना गर्ने दिनका रूपमा लिइन्छ । महिनामा एकपटक पर्ने औँसीका दिन पितृको उद्देश्य गरी श्राद्ध तर्पण गर्ने विधान छ ।
अनुकूलताका हिसाबले सबै औँसीमा श्राद्ध गर्न नसके पनि कुनै एक औँसीलाई विशेष महत्व दिई श्राद्ध गरिन्छ । सनातन समाजमा वैशाखकृष्ण औँसी, भाद्र कृष्ण औँसी र पौषकृष्ण औँसीका दिन तीर्थस्थलहरूमा गएर श्राद्ध गर्ने चलन छ । वैशाखकृष्ण औँसीमा काठमाडौंको मातातीर्थ, भाद्र औँसीमा काठमाडौंको गोकर्ण र पौष औशीका दिन नुवाकोटको वेत्रावतीमा श्राद्ध गर्नेहरूको घुइँचो हुन्छ । यीबाहेक दोभान, त्रिवेणीलगायतका पवित्रस्थानमा श्राद्ध गर्ने चलन छ ।
