श्रीमद्भागवत महापुराणको एकादश स्कन्धमा । सातौँ, आठौँ र नवौँ अध्यायमा कसलाई गुरु मान्ने वा कोबाट के सिक्ने भन्ने सन्दर्भ आउँछ ।
‘तपाईँ विद्वान् भएर पनि अभिमानरहित हुनुहुन्छ कसरी ?’ राजा यदुको प्रश्नको जवाफमा दत्तात्रेयले आफूले अनेक प्रकारका गुरुहरूको आश्रय लिएको जवाफ दिएका छन् । उनले भनेका छन्, ‘जसलाई मैले गुरु मानेको छु, उनले मलाई प्रत्यक्ष उपदेश त दिएका हैनन् तर आफ्नो बुद्धिअनुसार उनीहरूको व्यवहारबाट शिक्षा ग्रहण गरेको हुँ ।’ (श्रीमद्भागवत महापुराण द्वितीयखण्ड, अनु. पं. वासुदेव भट्टराई, साझा प्रकाशन ते.सं.२०६४)
ज्ञानी दत्तात्रेयले पृथ्वी, वायु, आकाश, जल, अग्नि, चन्द्रमा, सूर्य, परेवा, अजिङ्गर, समुद्र, चङ्गा, भमरा, हात्ती, माहुरी, हरिण, माछा, वेश्या, पक्षी, बालक, कुमारी, बाण बनाउने व्यक्ति, सर्प, माकुरा र कमलकोटी गरी २४ वटालाई गुरु मानेका छन् ।
आफूमाथि जस्तै आघात परिरहँदा पनि स्थिर रहने र कसैसँग साटो नफेर्ने पृथ्वीको परोपकारी गुणबाट शिक्षा ग्रहण गरेको दत्तात्रेयको भनाइ छ । आफ्नो शरीरको अहं नगरी आत्माको रूपमा सम्झन वायुबाट शिक्षा पाएको उनको तर्क छ ।
विभिन्न पदार्थको मिश्रणबाट बनेको मेघले घेरिए पनि वा ग्रहहरूमा विभिन्न उल्का, उत्पात भइरहँदा पनि संधै अविचलित रहने आकाशलाई अर्का गुरु मानेका छन् उनले । स्वभावैले शुद्ध आनन्दको अनुभूति गराउने तीर्थका रूपमा पवित्र भएर रहने र गङ्गा आदि तीर्थको नामैले पनि आनन्द दिने ‘जलजस्तै बन्न सकूँ’ भन्ने उनको कामना छ ।
जसरी अग्निमा कुनै वस्तु पर्दा एकैछिनमा भष्म हुन्छ अर्थात् पाएको वस्तु संग्रह गरेर राख्दैन । त्यस्तै ज्ञानी मानिसले प्रारब्धले परिएको अनेक विषयको भोग गरेको भए पनि मन र इन्द्रियलाई वशमा राखेर विषयदोष आउन दिनुहुँदैन भन्ने दत्तात्रेयको भनाइ छ । गतिको पत्ता लाग्न नसक्ने कालको प्रभावले चन्द्रमाको कला बढ्ने घट्ने देखिन्छ तर चन्द्रमण्डल त घट्ने बढ्ने होइन । जन्मदेखि मृत्युसम्मका अवस्था शरीरको हो, आत्माको होइन भन्ने शिक्षा चन्द्रमाबाट मिल्ने उनको कथन छ ।
आफ्ना किरणले पृथ्वीको जललाई तानेर पुनः पृथ्वीमै बर्साउने सूर्यजस्तै ज्ञानीले पनि इन्द्रियहरूले विषय ग्रहण गरेपनि परेका बेला त्यसलाई त्याग गर्न सक्छन् । आफ्ना सन्तान पासोमा परेको देख्दा देख्दै पनि आफू पनि पासोमा पर्ने परेवा कुटुम्बको पालनपोषणमा अत्यन्त आशक्त बन्दा गृहस्थमै फसिरहेको उदाहरण मार्मिक छ ।
सुखदुःखको रहस्य बुझ्ने पुरुषले अजिङ्गरले जस्तै जे भेटिन्छ, उदासीन नभई खाएर जीवन निर्वाह गर्नुपर्ने सन्देश दिएका छन् दत्तात्रेयले । कर्मअनुसारको फल नपाइएकै खण्डमा पनि शोक नगरी जो मिल्छ, त्यसैमा रमाउनुपर्ने उनको धारणा छ ।
ज्ञानीले सांसारिक वस्तु पाउँदैमा प्रफुल्लित हुने वा नपाउँदा दिक्दार हुनु हुँदैन । त्यसैले वर्षामा नदीहरू मिसिएपनि नबढ्ने, ग्रीष्मको प्रचण्ड घामले नसुक्ने समुद्रजस्तो एकनासको हुनुपर्ने तर्क छ, दत्तात्रेयको ।
स्वादको लोभमा पर्दा रात्रिका समय हुनै लाग्दा कमलको फूलभित्र बन्दी भएर मृत्युवरण गर्न पुग्छ । त्यस्तै विषयभोगमा अल्मलिएर मानिस पनि मृत्युको मुखमा पुगिरहेको हुन्छ । अर्कोतर्फ भमराले भिन्नभिन्न फूलबाट सार लिएजस्तै शास्त्र पढेर सार ग्रहण गर्न सक्नुपर्छ ।
जसरी माहुरी अर्को दिनका लागि संग्रह गर्ने नाममा आफैँ हुन्छ त्यस्तै मानिसले पनि अनावश्यक सञ्चय गर्यो भने त्यसैको चिन्ताले नष्ट हुन्छ । त्यसैले दत्तात्रेयले माहुरीलाई गुरु मानेका छन् । अनावश्यक स्त्रीमोहले दुर्दशा भोग्नुपर्छ भन्ने हात्तीको सन्दर्भबाट प्रष्ट हुन्छ । हात्तीको शिकार गर्नेहरू खाल्डो खनी घाँसले भरी नक्कली हात्तिनी बनाइदिन्छन् । कामान्ध हात्ती खाल्डोमा खसेर मर्छ । अधिक यौनाशक्त हुनु मृत्युको कारक हो भन्ने सन्देश हो यो ।
माहुरीले पछिका लागि भन्दै सञ्चय गरेर राखेको मह अर्कैले खाइदिन्छ । त्यसैले धेरै संग्रह गर्दा अरुले नै त्यसको उपयोग गरिदिन्छन् । अर्कोतर्फ माहुरीले संग्रह गर्दा नै मानिसहरूले त्यसको उपभोग गर्न पाए । मह काढ्ने मानिसको प्रसङ्गबाट दत्तात्रेयले सिकेको तथ्य हो, आफ्नो धन परोपकारमा खर्च गर्नू ।
शिकारीको गीत सुन्दा लठ्ठ परेको हरिण मारिएको प्रसङ्ग सांसारिक मनोरञ्जनले एकक्षण त आनन्द आउँछ । मुक्तिको बाटो मिल्दैन । मासुको लोभ गर्दा माछा त्यसभित्र रहेको फलामे अंकुशले छेडिएर मर्छ । स्वादको वशमा परेर मानिसहरूको गति पनि त्यस्तै हो । त्यसैले जिब्रोलाई वशमा लिन सकिए अरु इन्द्रिय कब्जामा लिन सकिन्छ भन्ने उनको सन्देश छ ।
अन्य गुरुको सन्दर्भमा पुरुषहरूलाई आकर्षित गरी वेश्यावृत्ति गर्ने पिङ्गलाको कथा उल्लेख छ, आठौँ अध्यायमा । शरीर त आखिर केही होइन, खाली हाड, मासु र छालाको थुप्रो हो, शुभकर्म गरेर जीवनलाई भगवान्को भक्तिमा लगाउनुपर्छ भन्ने सोच उत्पन्न भएको सन्दर्भ देखाएर दत्तात्रेयले पिङ्गला नामकी वेश्यालाई गुरु मानेका छन् ।
एक पक्षीले अर्को पक्षीले चुच्चोमा च्यापेको मासुको टुक्रा झार्न खुबसँग ठुग्यो । जबसम्म चुच्चोबाट मासु झरेन, ठुँगिरह्यो । जब मुखबाट मासुको टुक्रा फालिदियो तब मात्र सुख पायो । यसबाट संग्रहले दुःख हुँदोरहेछ भन्ने शिक्षा पाए उनले । मान–अपमान घर–परिवारआदिको चिन्ता नभएको बालक आफैँभित्र रमाएजस्तो आफ्नै आत्मासँग मग्न हुनुपर्ने उनको भनाइ छ ।
कुमारीको प्रसङ्गले आफ्नो उद्देश्यप्राप्तिका लागि उद्यत रहनुपर्छ भन्ने सिकेको सन्दर्भ छ । यस्तै बाण बनाउने व्यक्ति आफ्नो काममा मग्न रहँदा राजा आफ्नो नजिकबाट गएको पनि चाल नपाएको प्रसङ्गबाट कुनै काममा लाग्दा एकचित्त भई गर्नुपर्छ भन्ने सन्देश छ । सावधानीसँग रहने भ्रमण गरिरहने, अनावश्यक सङ्ग्रह नगर्नेजस्ता गुण सर्पबाट सिकेको उल्लेख गरेका छन् दत्तात्रेयले ।
माकुराले हृदयबाट मुखद्वारा जालो फैलाई त्यसैमा बिहार गर्छ र केही पछि त्यसलाई निलिदिन्छ । परमेश्वरको लीला पनि यस्तै हो । आफैँले जगत उत्पत्ति गरी बिहार गरी फेरि आफैंमा लीन गराउने । कमलकोटीले कुनै कीरालाई लगेर थुन्छ । त्यो किरा कमलकोटीको भयले उसको चिन्तना गर्दागर्दै कमलकोटीकै जस्तो रूपको बन्न पुग्छ । यसकारण मानिसले नराम्रा कुराको चिन्तना छोडेर परमात्माको चिन्तनामा लाग्नुपर्छ भन्ने उनको भनाइ छ ।
