सनातन धर्ममा विभिन्न धार्मिक अनुष्ठानमा शङ्ख बजाइन्छ । देवकार्य, मांगलिक कार्यमा मात्र नभई मृत्युमा समेत शङ्ख बजाउने परम्परा छ । शङ्ख बजाइबाट कुन कार्यमा बजेको भन्ने अनुमान सहजै लगाउन सकिन्छ ।
पाञ्चायनपूजा वा अन्य पौराणिक विधिका पूजामा सर्वप्रथम शङ्खघण्टपूजनलाई प्राथमिकता दिइएको छ । कतिपय देवीदेवताको पूजामा शङ्ख्यार्घ्य थाप्ने परम्परा पनि छ । अर्घ्यसँगै शङ्ख्यार्घ्य दिएपछि मात्र पूजा समापन हुन्छ ।
शङ्खको महिमा वेददेखि पुराणसम्म गरिएको छ । समुद्र मन्थनका क्रममा अन्य रत्नहरूसँगै बहुमूल्य शङ्ख पनि निस्किएको प्रसङ्ग पुराणमा आउँछ । महाभारतको युद्धमा समेत शङ्खको व्यापक प्रयोग भएको थियो । हाम्रा कतिपय देवीदेवताका हातमा पनि शङ्ख रहेको देख्न सकिन्छ ।
देवीदेवतालाई प्रसन्न पार्ने मात्र नभएर वरिपरीको वातावरण आनन्दमय बनाउँछ शङ्खध्वनिले ।नियमित शङ्खवादन हुने घरमा अरिष्ट तत्त्वको वास नहुने बताइन्छ । वैज्ञानिक दृष्टिले पनि हावामा भएका आँखाले नदेखिने किटाणुहरू नाश गरी वातावरणलाई शुद्ध राख्न शङ्खको महत्त्व छ ।
शङ्ख बजाउनेको श्वासप्रश्वास प्रणालीलाई स्वस्थ राख्न पनि शङ्खको महत्त्व छ । यसैगरी यसबाट विभिन्न उपचार पनि गर्न सकिन्छ । आयुर्वेदमा शङ्खको भष्मद्वारा निर्मित विभिन्न औषधिको उल्लेख पाइन्छ ।
