• Thursday 10th of September 2026

हुम्लामा कोरोना सङ्क्रमितलाई चाहिने औषधि अभाव


  • आशाका किरण

कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीका लागि चाहिने औषधि हुम्ला जिल्ला अस्पतालमा अभाव भएको छ । अस्पतालमा नयाँ खरिद गरेर आउनुपर्ने औषधि नआएपछि औषधि अभाव भएको हो । सोमबार मात्र एन्टिजेन किटबाट कोरोना परीक्षण गरी कोरोना पुष्टि भएका एक जना बिरामीका आफन्त दिनेश बोहराले अस्पतालमा औषधि नपाएको गुनासो गर्नुभयो ।

कोरोना सङ्क्रमण भएपछि बिरामीका लागि आवश्यक पर्ने औषधि बाहिरको निजी फार्मेसीबाट एक हजार दुई सयमा किनेर लिएर काम चलाएको उहाँले बताउनुभयो । सोमबार अस्पतालमा कोरोना परीक्षण गरेर पुष्टि भएका अन्य तीन जनाको अवस्था पनि उस्तै छ । चेकजाँच पछि चिकित्सकले औषधिको सिफारिस गर्ने तर अस्पतालमा सो औषधि नपाएर बजारमा रहेका निजी मेडिकलबाट किन्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

कोरोना पुष्टि भएपछि चिकित्सकले औषधिको सिफारिस गरेको तर नपाएर बाहिर महँँगोमा किन्नुपरेको छ । कोरोनाविरुद्ध प्रयोग हुने सबै औषधि सकिएको अस्पतालका एक जना स्वास्थ्यकर्मीले बताइन् । उता जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बजारमा फैलिएको हल्लाजस्तो नभएको तर आइसोलेशनमा बसी रहेका कोरोना सङ्क्रमित बिरामीका लागि केही औषधि अभाव भएको अन्य सबै औषधि प्रर्याप्त रहेको दाबी गर्नुभयो ।

“पुरानो केही औषधि सकिएको छ”, उहाँले भन्नुभयो, “नयाँ खरिद गरेको औषधि नेपालगञ्जमा आइपुगेकाले अबको दुई,चार दिनमा जिल्ला अस्पतालमा अभाव भएको औषधिको पनि पूर्ति हुनेछ ।” आठ लाखको औषधि खरिदका लागि सप्लायर्स पनि छनोट भएर सम्झौता भइसकेकाले अब चाँडै औषधि जिल्लामा आइपुग्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij