• Thursday 10th of September 2026

महिला र हस्तमैथुन: के महिलाले पनि हस्तमैथुन गर्छन् ?


  • आशाका किरण

डा. राजेन्द्र भद्रा-के महिलाले पनि हस्तमैथुन गर्छन् ? यो कसरी गर्न सकिन्छ र यसका फाइदा के छन् ?

महिला हस्तमैथुन

आफैंलेआफ्नो यौनाङ्ग चलाउने, घर्षण गर्ने वा दबाउने जस्ता क्रियाकलाप गरेर यौन आनन्द प्राप्त गर्ने यौन क्रियाकलाप नै हस्तमैथुन हो । सामान्यत: पुरुषले मात्र गर्ने मानिए पनि महिलाले पनि हस्तमैथुन गर्छन् । किन्सेले गरेको अध्ययनमा सोधिएका मध्ये ९२ प्रतिशत पुरुषले हस्तमैथुन गरेको कुरा बताएका थिए भने ६२ प्रतिशत महिलाले, तर त्यसपछि गरिएका अध्ययनमा ८२ प्रतिशतसम्म महिलाले हस्तमैथुन गरेको अनुभव भएको बताएका छन् ।

महिलाले कसरी गर्छन् ?

महिलामा प्रत्यक्ष रूपमा योनिलाई नै यौनअङ्ग मानिन्छ । महिलाहरूमा योनिबाहेक अन्य विभिन्न अङ्ग पनि यौनका दृष्टिकोणले संवेदनशील हुन्छन् । जस्तै— भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगांकुर तथा स्तन । त्यसबाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म (छाला) लाई हामीले यौन अङ्गका रूपमा नलिए पनि हामीले पाउने धेरैजसो यौनसुख यिनै अङ्गमार्फत प्राप्त गरिरहेका हुन्छौं ।

पुरुषको भन्दा महिलाहरूको हस्तमैथुन गर्ने तरिकामा विविधता हुन्छ । महिलाहरूले विभिन्न यौनअङ्गलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने अध्ययनहरूले देखाएका छन् । हस्तमैथुन गर्दा यौन परिकल्पना एउटा महत्वपूर्ण पक्ष हो । यस क्रममा आफूले चाहेअनुरूप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर आनन्द थपिन्छ ।

महिलाले हस्तमैथुन गर्ने केही प्रमुख विधि :

भगांकुर चलाउनु : भगांकुर चलाउनु वा यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सबैभन्दा महत्वपूर्ण यौन क्रियाकलाप हो । भगांकुर यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्रका रूपमा हुन्छ । आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ । त्यसका लागि चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, बिस्तारै हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय अपनाउन सकिन्छ ।

केही पसाउनु : योनिमा केही पसाएर यौन आनन्द लिन सकिन्छ । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमै हुन्छ । यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थ प्रयोग गर्न भने बिर्सनु हुँदैन । यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ ।

यौन प्रसाधनको प्रयोग : भगांकुर होस् वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ । औंला बहुउपयोगी हुने भएकाले यसमा चाहेअनुरूप दबाब, गति वा शैली अपनाउन सकिन्छ, यसले आनन्द थप्छ नै । यीबाहेक महिला शरीरका अन्य अङ्गको स्पर्श, मर्दन वा सुमसुम्याई यौन आनन्द पाउने कुराका लागि सहायक नै हुन्छन्, तर अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले विभिन्न यौन प्रसाधन वा वस्तु पनि प्रयोग गर्छन् । कतिपयले पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन् । अंग्रेजीमा भाइब्रेटर भनिने यौन प्रसाधन विभिन्न आकार तथा प्रकारमा पाइन्छन् । तुलनात्मक रूपमा यसको प्रयोगले यौन आनन्द प्राप्त गर्न सजिलो भएकाले पनि यसलाई कतिपय महिलाले मन पराएका छन् ।

केही असर गर्छ कि ?

हस्तमैथुन स्वभाविक प्रक्रिया हो, त्यसैले यसले हानि गर्दैन । यौनसम्पर्क र हस्तमैथुनबाट यौन आनन्द प्राप्त गर्ने प्रक्रिया सिद्धान्तत: उस्तै हो । हस्तमैथुन गर्दा कौमार्य भङ्ग हुन्छ भन्ने कुरा सत्य होइन । योनिमार्गको द्वारमा हुने एउटा पातलो छालाको झिल्ली (योनिच्छद ) च्यातिनुलाई नै कुमारित्व भङ्ग भएको मानिन्छ, तर योनिच्छद छ कि छैन भन्ने आधारमा पहिले जस्तो ‘कुमारीत्व’ कायम भए–नभएको कुराको मापन गर्ने जमाना अब रहेन । वास्तविक रूपमा कुमारित्व भङ्ग हुनु वा नहुनु भनेको कुनै व्यक्तिसँग यौनसम्पर्क भएको छ वा छैन भन्ने आधारलाई मान्दा हस्तमैथुन गर्नुलाई कुमारित्व भङ्ग हुने कारकको परिभाषामा राख्न मिल्दैन । हस्तमैथुनले कतै योनि खुकुलो हुन्छ कि भन्ने चासो हुने भए पनि त्यसमा पनि कुनै सत्यता छैन ।

फाइदा ?

सर्वप्रथम त हस्तमैथुनले यौनईच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिन्छ । तनावबाट मुक्त मानिस बढी सकारात्मक रूपमा सिर्जनशील हुन सक्छ । यसरी यौन चाहना शान्त पार्न मद्दत पुर्‍याउने भएकाले कतिपय यौन अपराध कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन् । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, अन्य व्यक्तिसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगवाट पनि जोगाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआईभी वा अन्य यौनरोगहरू लाग्नबाट पनि जोगिने नै भयो । विवाहपछि पनि श्रीमान्–श्रीमती दुवै जना मिलेर कसरी बढी यौन आनन्द लिन सकिन्छ भन्ने कुरामा कुराकानी वा छलफल गरेर विभिन्न प्रयोगद्वारा दुवै जनालाई आनन्द आउने उपायको खोजी एवं त्यसको अवलम्बन गर्न सकिन्छ ।
साप्ताहिकका साथमा ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij