• Thursday 10th of September 2026

टोखाले तीन हजार नगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने


  • आशाका किरण

टोखा नगरपालिकाले ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले परिवर्तित जीवनशैली, खानपान र वातावरणीय प्रदूषणका कारणले बढ्दै गएको उच्च रक्तचाप, मधुमेह, मुटु तथा मिर्गौला रोग र अबुद्र्धरोग (क्यान्सर)लगायतका नसर्ने रोगको निःशुल्क परीक्षणका लागि ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्न लागेको हो ।

नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा ‘मेयर स्वास्थ्य कार्यक्रम’अन्तर्गत तीन हजार जनाको पूर्ण स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने बताएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आधारभूत स्वास्थ्य सेवा पाउने नगरवासीको मौलिक हकलाई सुनिश्चित गर्दै केन्द्र सरकारबाट प्रदान गरिने निःशुल्क औषधिका साथै नगरपालिकाले निःशुल्क औषधि उपलब्ध गराउने बताउनुभयो ।

वडा नं २ मा स्थापना भएको टोखा चण्डेश्वरी प्राथमिक केन्द्रलाई प्रादेशिक अस्पतालका रूपमा विकास गरिसकिएकाले उक्त अस्पतालबाट उच्चतम सेवा लिनका लागि नगरवासीलाई अभिप्रेरित गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

नगरपालिकाभित्रका गर्भवती एवं सुत्केरीको स्वास्थ्यलाई मध्यनजर गर्दै टोखाले ‘महिलासँग उपमेयर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रमअन्तर्गत गर्भवती एवं सुत्केरीलाई निःशुल्क क्याल्सियम, फोलिक एसिड चक्की र निःशुल्क गर्भ परीक्षण सेवा उपलब्ध गराइने भएको छ । गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा र प्रजनन स्वास्थ्य प्रवद्र्धनसम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने उपप्रमुख ज्ञानमाया डङ्गोलले बताउनुभयो । नगरपालिकाले खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न खोप केन्द्र निर्माण गरी बालबालिका तथा जोखिममा रहेका वयस्कहरुका लागि थप खोप प्रदान गर्ने भएको छ ।

यस्तै शारीरिक एवं मानसिक स्वास्थ्यका लागि विभिन्न सङ्घसंस्थाको सहकार्यमा ‘एक वडा, एक योग ध्यान केन्द्र तथा व्यायामशाला’ निर्माणकार्यलाई अगाडि बढाउने बताइएको छ । यो गत वर्षदेखि शुरुआत गरिएको कार्यक्रम हो । नगर क्षेत्रका निजी अस्पताल तथा क्लिनिकले नगरवासीलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन कम्तीमा १५ प्रतिशत छुट गराउने कार्यलाई पहल गर्ने नगरपालिकाले जनाएको छ ।

टोखामा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, इसान बाल अस्पताल वसुन्धरा, ग्रीनसिटी अस्पताल वसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी र विनायक अस्पताल एवं प्रसूतिगृह गोँगबु गरी निजी लगानीमा सञ्चालित पाँचवटा अस्पताल रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij