• Thursday 10th of September 2026

महामारी नियन्त्रण र रोकथामका लागि देशभर मास्क अभियान यही साउन २३ गतेदेखि सुरु हुने


  • आशाका किरण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न थालिएको बताउनुभयो । उहाँले जनस्वास्थ्यमा मापदण्ड उल्लघङ्न भएको र मास्क लगाउन पनि लापरवाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान शुरु गर्न लागिएको जानकारी दिनुभयो ।

“महामारी नियन्त्रणमा खोप जतिकै मास्क, सेनिटाइजरसंँग जनस्वास्थ्यको भूमिका पनि महत्वपूर्ण रहेको छ”, उहाँले भन्नुभयो, “सबै नेपालीलाई महामारी नियन्त्रणमा मास्कको भूमिकाबारे जनचेतना जगाउन आवश्यक छ ।” म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु भन्ने सन्देश दिई कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो । कोरोना भाइरसबाट बच्न बढी प्रभावकारी उपाय भनेको नै मास्क रहेकाले सबैले अनिवार्य मास्क लगाउनसमेत उहाँले आग्रह गर्नुभयो ।

सङ्क्रमण दिनानुदिन बढे पनि मानिसले सही तरिकाले मास्क नलगाउने गरिएको पाइएको छ । स्वास्थ्य सेवा विभागको राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रका निर्देशक डा राधिका थपलियाले मास्कबारे जनचेतना मात्र नभइ मास्कले मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान शुरु गर्न थालिएको बताउनुभयो । उहाँले मास्कलाई सही तयारीले लगाउन सिकाउनका लागि अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“मास्क लगाए पनि कतिपयले बोल्दा मास्क फुकाल्ने, चिउडोमा लगाउने, सही तरिकाले मास्क नलगाउने जस्तो देखिएको छ”, उहाँले भन्नुभयो, “यसपटक मास्कको जनचेतना नभएर मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालिएको हो ।”
स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा मास्क कसरी लगाउने भनेर सिकाउने छन् । उहाँका अनुसार स्वास्थ्य स्वयमसेविकामार्फत गाउँटोलमा मास्कको महत्वबारे टोलटोलमा सिकाइने छ । सात दिनसम्म मास्कको महत्व र लगाउने तरिका सिकाइने छ । अहिले दैनिक सङ्क्रमित बढेपछि जोखिम पनि बढेको छ । बुधबार मात्र चार हजार १०७ व्यक्तिमा सङ्क्रमण देखिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij