• Wednesday 9th of September 2026

खोप लगाएपछि ज्येष्ठ नागरिक ढुक्क


  • आशाका किरण

“कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाउन पाइन्न कि भन्ने चिन्ता थियो, पहिलो खोप लगाएको पाँच महिनापछि दोस्रो खोप लगाउन पाउँदा ढुक्क भएको छौँ ।” पोखरा महानगरपालिका वडा नं १७ रातोपैह्रास्थित शहरी स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाउनुभएका ज्येष्ठ नागरिकको सामूहिक भनाइ हो यो ।

वर्षात्को प्रवाह नगरि कतिपय ज्येष्ठ नागरिक बिहानैदेखि छाता ओढेर, लौरो टेकेर तथा आफन्तको सहायतामा केन्द्रमा पुगेर लाइनमा बस्नुभएको थियो । अशक्त ज्येष्ठ नागरिकलाई आफन्तले बोकेरै केन्द्रसम्म ल्याउनुभएको थियो ।

विसं २०७७ फागुन २६ गते कोरोनाविरुद्धको पहिलो खोप लगाउनुभएको पोखरा महानगरपालिका वडा नं १७ म्युजियममार्गकी ८५ वर्षीय लीलावती बाँस्तोलाले १६३ दिनपछि दोस्रो खोप लगाएर केन्द्रबाट बाहिर निस्कँदै गर्दा बाँच्ने आशा पलाएको प्रतिक्रिया दिनुभयो ।

पछिल्लो समय कास्कीमा कोरोना सङ्क्रमण ह्वात्तै बढेको र दैनिकजसो मृत्यु हुनेको सङ्ख्या पनि थपिएको सुन्दा अहिलेको महामारीबाट बाँचिन्न कि जस्तो लागेको बताउँदै उहाँले ढिलै भए पनि दोस्रो पटक खोप लगाउन पाउँदा खुशी लागेको बताउनुभयो ।

सोही केन्द्रमा दोस्रो चरणको खोप लगाउनुभएकी पोखरा १७ डेमसाइटकी अर्की ज्येष्ठ नागरिक सुधारी शेरचनले खोपको कार्ड देखाउँदै पहिलो खोप लगाएपछि छिट्टै दोस्रो खोप पाउने आशा लागेको थियो तर पाँच महिना पाँच दिनपछि मात्र खोप लगाइयो काम गर्छ कि गर्दैन पछि थाहा होला ।

खोप केन्द्रको व्यवस्थापनमा बिहानैबाट खटिनुभएका पोखरा महानगरपालिका वडा नं १७ का वडाध्यक्ष तीर्थराज अधिकारीका अनुसार खोप केन्द्रमा आज बिहानदेखि १२ बजेसम्म अत्यधिक भीड भए पनि त्यसपछि भने बिस्तारै खुला हुँदै गएको छ । सो केन्द्रमा साउन ३२ गते भोलि पनि खोप कार्यक्रम सञ्चालन हुनेछ ।

पोखरा महानगरपालिका ३३ वटा वडामा ४८ खोप केन्द्रबाट २१ हजार ८२४ जना ज्येष्ठ नागरिकलाई दोस्रो चरणको खोप लगाउने काम भइरहेको महाशाखाका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिनुभयो ।

खोप केन्द्रमा जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मीसहित ३०० भन्दाबढी स्वास्थ्यकर्मी परिचालन गरिएको बताउँदै उहाँले दुई दिनका लागि खोपको अभाव नहुने बताउनुभयो । स्वास्थ्य महाशाखाको टिमले आज बिहान पोखराका विभिन्न खोप केन्द्रको स्थलगत अनुगमन गरेको बताउँदै उहाँले सबै केन्द्रमा खोप कार्यक्रम व्यवस्थितरूपमा सञ्चालन भएको छ ।

पहिलो चरणमा खोप लगाएकामध्ये ६०० जनासम्म ज्येष्ठ नागरिक रहेको वडाका केन्द्रमा एक दिन र उक्त सङ्ख्याभन्दा बढी सङ्ख्या भएका वडामा दुई दिन खोप लगाउने व्यवस्था गरिएको बताउँदै अधिकृत आचार्यले भन्नुभयो, “पोखराका वडा नं १, ५, ८, १०, १३, १४, १५, १७ र २५ का केन्द्रमा सोमबार पनि खोप लगाउने व्यवस्था गरिएको छ ।”

विश्वव्यापीरूपमा पैmलिएको कोरोना भाइरसबाट नागरिकलाई जोगाउने लक्ष्यका साथ सरकारले मुलुकमा पहिलो पटक भारतबाट भित्र्याएको कोभिसिल्ड खोप लगाएका ६५ वर्षभन्दामाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई दोस्रो चरणमा जापानबाट प्राप्त भएको आस्ट्राजेनेकाको खोप लगाइएको हो ।

कास्कीमा यसअघि ८७ हजार ८३० जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेका छन् । कास्कीमा हालसम्म १५ हजार ८७० जनाले कोभिसिल्ड, एक डोज मात्र लगाए हुने अमेरिकन खोप जोनसोन एण्ड जोन्सन २५ हजार जनाले र ४६ हजार ९० जनाले भेरोसेलको दुवै डोज खोप लागाईसकेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यका अनुसार पोखरा महानगरपालिका, रुपा गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र मादी गाउँपालिकामा आज र आइतबार र अन्नपूर्ण गाउँपालिकामा भदौ २ गते खोप लगाउने कार्यक्रम रहेको छ । कास्कीमा आस्ट्राजेनेकाको ३२ हजार डोज खोप प्राप्त भई सकेको उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij