• Friday 24th of July 2026

छोरी शिक्षा कार्यक्रमः सुरक्षित भविष्यका लागि कोशेढुङ्गा साबित हुने


  • आशाका किरण

पाल्पा, ६ भदौ (रासस) : छोरीको शिक्षामा पहुँच बढाउन, सुरक्षित भविष्य बनाउन र सशक्तीकरणका लागि तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रम ल्याएको छ ।

नगरपालिकाले ल्याएको यस कार्यक्रमले यहाँका विपन्न परिवारका अभिभावकमा छोरीको उज्ज्वल भविष्यका लागि ठूलो आशा पलाएको छ । छात्राले कक्षा छाड्ने तथा दोहो¥याउने समस्या बढ्दै गएपछि नगरपालिकाले छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति कार्यक्रम ल्याएको हो ।

यस कार्यक्रमअन्तर्गत विद्यालय जाने छात्राले वार्षिक रु १० हजार सुविधा पाउने भएका छन् । नगरभित्रका दलित, जनजाति तथा जेहेन्दार छात्राको सिकाइ प्रभावकारी बनाउने र कक्षा ८ देखि १० सम्मको अध्ययन पूरा गराउने योजनाका साथ यो कार्यक्रम ल्याएको नगर शिक्षा शाखाका प्रमुख रेशमलाल न्यौपानले बताउनुभयो ।

उच्च शिक्षा हासिल गराउने, छात्राको अध्ययनलाई सीपमूलक, प्राविधिउन्मुख बनाउने, नेतृत्व क्षमता विकास गरी सार्वजनिक रोजगारीका क्षेत्रमा पहुँच बढाउने उद्देश्यले यो कार्यक्रम ल्याएको उहाँको भनाइ छ । छोरीलाई शिक्षा, सुरक्षा र सशक्तीकरण प्रदान गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रमुख न्यौपानेको भनाइ छ ।

उहाँले छोरीको शिक्षामा पहुँच बढाई उज्ज्वल भविष्य बनाउन, क्षमता अभिवृद्धि गर्न र उनीहरूको सुरक्षित भविष्यका लागि यो कार्यक्रम कोशेढुङ्गा साबित हुने बताउनुभयो । छोरीलाई पढाएर मात्रै सुरक्षित बनाउन सकिने उल्लेख गर्दै उहाँले यस कार्यक्रममार्फत राज्य आम नागरिकसम्म पुगेको बताउनुभयो । यस कार्यक्रमलाई अझै प्रभावकारी बनाउने योजनामा नगरपालिका रहेको प्रमुख न्यौपानेको भनाइ छ ।

प्रत्येक वडाबाट दलित दुई जना, जनजाति एक जना र अन्य दुई जना गरी पाँच जनाले छोरी शिक्षा कार्यक्रममा सहभागी हुन पाउने छन् । नगरपालिकाभित्र १४ वडाबाट कूल ७० छात्राले यो कार्यक्रमको सुविधा पाउने छन् । यो कार्यक्रम ल्याइसकेपछि नगरपालिकामा गरिब, पिछडिएका र दलित समुदायका घरपरिवार सबैभन्दा बढी खुसी भएका छन् । यस कार्यक्रमले छोरीमाथि हुने विभेद्मा पनि कमी ल्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

दलित अधिकारकर्मी तथा जनप्रिय माविका शिक्षक तीर्थप्रसाद गौतमले यस कार्यक्रमले विपन्न परिवारका छोरीलाई पढाउनका लागि ठूलो सहयोग पुग्ने बताउँदै यो कार्यक्रमले आर्थिक अभावका कारण विपन्न तथा जेहेन्दार छात्रालाई विद्यालय शिक्षा बीचमा नै रोक्नुपर्ने बाध्यता अब हटेको छ भन्नुभयो ।

गरिबीका कारण सामाजिक तथा स्वास्थ्यकै कारण पनि बालबालिका विद्यालय शिक्षाबाट बञ्चित हुनुपरेको अवस्था छ । तानसेन नगरपालिकाभित्रकै ग्रामीण क्षेत्रमा किशोरी अध्ययन छाडेर बालविवाह गर्दा विद्यालय शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था छ ।

यता रिब्दीकोट गाउँपालिकाले दलित छात्राका लागि प्राविधिक शिक्षामा आकर्षण बढाउन ल्याएको छात्रवृत्ति कार्यक्रम प्रभावकारी हुन सकेको छैन् । फलस्वरुप यहाँका दलित बालबालिका विद्यालय अध्ययनबाट बाहिरै रहेका छन् ।

छोरा र छोरीमा विभेद नहोस्, छोरीले पनि छोरा समान पढ्न लेख्न पाउन् भन्ने उद्देश्यले सो गाउँपालिकाले आफ्नै स्रोतमा छोरी छात्रवृत्ति कार्यक्रम ल्याएको बताइएको छ । छोरीलाई पढाइमा सहयोग पु¥याउन छात्रवृत्ति कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij