• Wednesday 9th of September 2026

घट्न थाल्यो बागलुङमा कोरोना सङ्क्रमण


  • आशाका किरण

निषेधाज्ञामा कडाइ थालेपछि बागलुङमा कोरोना सङ्क्रमणदर घट्न थालेको छ । एक महिना पहिला ८०० जना सक्रिय सङ्क्रमित रहेको बागलुङमा पछिल्लो तथ्याङ्कअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३८८ मा झरेको छ ।

जिल्लामा सोमबार जम्मा आठमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ भने ४५ ले कोरोनालाई जितेर घर फर्किएका छन् । एन्टिजेन परीक्षणका क्रममा सोमबार बरेङ गाउँपालिकाका २ र गल्कोट नगरपालिकाका ६ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘‘लक्षण देखिएका बिरामीको निरन्तर जाँच भइरहेको छ, सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटेको पाएका छौँ’’, कार्यालयका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले भन्नुभयो, ‘‘गत भदौ १० पछि निषेधाज्ञा खुकुलो गर्न दबाब छ, खुकुलो हुँदा जोखिम बढ्न सक्छ ।’’

कोरोना सङ्क्रमणका कारण जिल्लामा हालसम्म ६४ ले ज्यान गुमाएका छन् । सोमबार राति बागलुङ नगरपालिका–१२ अमलाचौरका ७२ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको उपचारका क्रममा धौलागिरि अस्पतालमा मृत्यु भएको हो ।

‘‘दोस्रो लहर चल्ने बेला जस्तो अक्सिजनको कमी हुने सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ, अस्पतालमा गम्भीर समस्या लिएर आउने कम छन्’’, उहाँले भन्नुभयो, ‘‘भेला, सभामा सहभागी हुनेमा बढी सङ्क्रमण देखिन्छ, सजगता अपनाउँदा सङ्क्रमण कम हुन्छ ।’’

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij