• Friday 24th of July 2026

जुम्लाका स्थानीय तहले विद्यालय सञ्चालन गरे


  • आशाका किरण

जुम्लाका स्थानीय तहले विद्यालय सञ्चालनको तयारी गरेका छन् । यहाँको हिमा गाउँपालिकाले विद्यालयमा पठनपाठन शुरु गरेको छ । गाउँपालिकाले यही भदौ १५ गतेबाट विद्यालय सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख शङ्कर धितालका अनुसार गाउँपालिकाको दुई क्षेत्रमा गरी ८२ विद्यार्थीको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएकाले कार्यपालिको बैठकको निर्णयअनुसार विद्यालय स्वास्थ मापदण्ड पालना गर्ने गरी गाउँपालिकाभित्रका सबै विद्यालय खुलाइएको शिक्षा शाखा प्रमुख धितालले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले यहाँका स्थानीय तहका शिक्षा शाखा प्रमुखको उपस्थितिमा विद्यालय सञ्चालन गर्ने आधारको विषयमा आयोजना गरिएको बैठकबाट विद्यालय सञ्चालन गरिएको शाखा प्रमुख धितालले जानकारी दिनुभयो । स्थानीय तहको निर्णयअनुसार भदौ १५ गतेदेखि विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खुलाइएको कालिका माध्यमिक विद्यालयका शिक्षक खम्बा शाहीले बताउनुभयो ।

यसैगरी जिल्लाका स्थानीय तहका शिक्षा शाखा प्रमुखले कोरोना महामारीका बिचमा शिक्षा क्षेत्रमा भइरहेका गतिविधि र विद्यालय सञ्चालन गर्ने विषयको छलफल गरेका छन् । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले शिक्षा शाखाले एक हप्ताभित्र शिक्षा क्षेत्रको जोखिम प्रतिकार्य योजना ल्याउने निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि जिल्ला कोभिड व्यवस्थापन समितिले निर्णय गरे पनि शिक्षा शाखालाई जिम्मेवारी दिएर एक सातामा जोखिम कार्ययोजनासहितको प्रतिवेदन पेश गर्ने निर्देशन गरिएको हो ।”

बैठकमा शिक्षा शाखा प्रमुखले शिक्षा क्षेत्र धरापमा परिसकेकाले स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खुलाउनुपर्नेमा जोड दिएका छन् । कोभिडले गर्दा विद्यालय बन्द हुदाँ यहाँका धेरैजसो विद्यार्थी मेला, पर्व र अन्य काममा जाने भएकाले त्यहाँ भन्दा विद्यालयमै सुरक्षित हुनेमा सुझाव आएको प्रजिअ प्र्रसाईले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij