• Friday 24th of July 2026

तेब्बर कैदीबन्दीले सङ्क्रामक रोगको जोखिम


  • आशाका किरण

जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सङ्क्रामक रोगको जोखिम बढेको छ । पच्चिस जनाको क्षमता रहेको कारागारमा हाल ७५ कैदीबन्दी छन् । तीमध्ये ४२ कैदी र बाँकी थुनुवा रहेका कारागार प्रमुख अनिल तिवारीले जानकारी दिनुभयो ।
तेब्बर कैदीबन्दी हुँदा यहाँ सरुवा रोगको पनि जोखिम बढेको छ । भौतिक दूरी कायम हुने त कुरै छैन्, कोरोनाको पनि जोखिम छ उहाँले भन्नुभयो, “कारागारभित्र ठाउँ नभएर टेण्ट हालेर राखेका छौंँ, व्यवस्थापनमा निकै चुनौती छ ।”

“कारागार भित्रैको कम्पाउण्डमा दुई टेण्ट हालेका छौंँ, त्यसभित्र आठ शैया लगाएर १३ जनालाई त्यहाँ बसोबासको व्यवस्था गरेका छौंँ ।” प्रमुख तिवारीले बताउनुभयोे, “व्यवस्थापनमा चुनौती थपिएको छ, ठाउँ अभावमा एउटै शैयामा तीन कैदीबन्दी सुत्ने गरेका छन्,।”

कैदीबन्दीलाई शौचालय प्रयोग र सरसफाइका लागि समेत समस्या हुँदै आएको छ । उनीहरूमा कोरोना सङ्क्रमणको जोखिम बढेकाले बाह्य भेटघाट पनि बन्द गरिएको छ । “सबैले खोप लगाए पनि जोखिम बढ्ने भएकोले बाहिरी भेटघाट बन्द गरेका हौँ ।” प्रमुख तिवारीले भन्नुभयो, “विषेश परिस्थिति तथा मुद्दासँग सम्बन्धित भेटघाट भए, ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट र कोरोना खोप लगाएको कार्ड हेर्ने गरेका छौं । ”

जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले पनि कारागारमा सङ्क्रमक तथा सरुवा रोगको जोखिम रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“थोरै मान्छे बस्नुपर्ने ठाउँमा बढी मान्छे लामो समयसम्म बस्दा जोखिम निकै हुन्छ ।” यस्तो ठाउँमा क्षयरोग तथा श्वासप्रश्वास सम्बन्धी समस्या बढी देखिने सम्भावना हुन्छ ।

पुरानो र जीर्ण भवन पुनःनिर्माण नहुँदा यहाँ सुरक्षा चुनौती पनि थपिएको छ । विसं २०४०मा निर्माण गरिएको कारागार पुनःनिर्माण नहुँदा जीर्ण बनेको हो ।
नयाँ भवन निर्माणका लागि कारागार व्यवस्थापन विभागमा लागत अनुमानसहितको योजना पठाइए पनि कहिले बन्ने भन्ने टुङ्गो छैन । प्रमुख तिवारीले भन्नुभयो,“ नयाँ भवन बन्ने कुराको टुङ्गो लागेको छैन्, रू चार करोडभन्दा बढीको लागत इस्टमेट गरेर पठाइएको थियो ।”कारागार सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij