• Friday 11th of September 2026

मन्त्रिमण्डल विस्तारमा न्यायलयलाई भागबण्डा गरियो भन्नु गलतः अध्यक्ष दाहाल


  • आशाका किरण

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तारमा न्यायलयलाई भागबण्डा गरियो भन्नु गलत भएको बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले गजेन्द्र हमाललाई कांग्रेसको कोटाबाट मन्त्री बनाइएको बताउनुभएको हो । अध्यक्ष दाहालले यो विषयमा होहल्ला गर्नु आवश्यक नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेसको आफ्नै मान्छे हो, आफ्नै कोटामा ल्याइसकेपछि यता हो र त्यता हो भन्नुको कुनै तुक छैन ।” सांसद नभएको व्यक्तिलाई मन्त्री बनाउन मिल्ने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै उहाँले सांसद नभएका व्यक्तिलाई छ महिनासम्म मन्त्री बनाउने व्यवस्था संविधानमै छ भन्नुभयो ।

“यसभन्दा अगाडि पनि सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइने गरेको छ”, उहाँले भन्नुभयो, “यो नयाँ कुरा होइन ।” अध्यक्ष दाहालले पहिलो पटक प्रतिनिधिसभाको विघटन हुँदा सेटिङसेटिङ भन्ने चर्चा भएको उल्लेख गर्दै मानिसलाई त्यही भन्न मन लागेर भनेका होलान, तर यहाँ सेटिङ छैन भन्नुभयो ।

“सरकार कोभिडविरुद्धको खोपको व्यवस्थापन गर्नमा लागेको छ”, उहाँले भन्नुभयो, “जनताको जीवनरक्षा गर्ने सरकारको पहिलो प्राथमिकता हुन्छ ।” अध्यक्ष दाहालले आफूहरुले सुरुदेखि नै खोपखोप भन्दै आएको बताउँदै खोपको व्यवस्थापन र जनतालाई राहत दिने कुरा प्राथमिकतामा पर्ने धारणा राख्नुभयो । उहाँले विकास निर्माणसँग सम्बन्धित कुरालाई अगाडि बढाउने र थाती रहेका विधयेकलाई अगाडि बढाउने कुरा पनि सरकारको प्राथमिकतामा पर्ने जानकारी दिनुभयो ।

लिपुलेक, कालापानी, लिम्पियाधुराको विषय हिजो पनि केपीको कर्म नभएर आफूहरुको कर्म भएको बताउँदै उहाँले भन्नुभयो, “लिम्पियाधुरा, कालापानीको विषय उठाएर संसद्मा लानुपर्छ भन्ने हामी थियौँ । अहिले पनि सरकारको साझा नीति कार्यक्रममा समावेश गरेका छौँ ।”

अध्यक्ष दाहालले राष्ट्रिय सहमति र परिमार्जनविना एमसिसी पास नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय सहमति र परिमार्जनविना यो पास हुन सक्दैन ।” संसद् अवरुद्ध गर्ने नैतिक र राजनीतिक अधिकार प्रतिपक्षलाई नरहेको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “पटकपटक संसद् विघटन गर्नेलाई विरोध छ भने जनतामा गए भयो ।” संसद् अवरोधमा कुनै तर्क र तथ्य नरहेको बताउनुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले आगामी निर्वाचनमा चितवन जस्तो जिल्लामा गठनबन्धन भएर जाने बताउनुभयो । उहाँले भन्नुभयो, “चितवन जस्तो जिल्लामा हामी समझदारीका साथ निर्वाचनमा जान्छौँ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij