राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाको क्रियाकलापको कारणले लोकतन्त्र कमजोर हुने काम कसैले गर्न नहुने बताउनुभएको छ ।
रास्वपाले केन्द्रीय सदस्यहरूका लागि आयोजना गरेको दुईदिने नीति, सङ्गठन र नेतृत्व कार्यशालाको कार्यक्रममा बोल्दै लामिछानेले पुरानो पुस्ता जेलनेल भोगेर र शहिदहरुले बलिदानले प्राप्त लोकतन्त्र कमजोर हुन नहुने बताउनुभयो । सभापति लामिछानेले रास्वपाका गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन नेता–कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले लोकतन्त्र बलियो बनाउने जिम्मेवारी आफूहरूको काँधमा आएको भन्दै पार्टीका हरेक गतिविधि जिम्मेवार र लोकतान्त्रिक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अन्जानमा कमजोरी भए त्यसलाई स्वीकार गरी सच्याउन आफू तयार रहेकोउल्लेख गर्दै नेतृत्व र कार्यकर्ताबीच जिम्मेवारीको संस्कार विकास हुनुपर्ने बताउनुभयो । सभापति लामिछानेले आफूले हाँसि हाँसि किस्तीमा उपहार पाएको प्रधानमन्त्री पद छाडेको बताउँदै नेता कार्यकर्ताहरूलाई आवश्यक पर्दा त्याग गर्न तयार रहनुपर्ने बताउनुभयो । उहाँले २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री बन्नका निम्ति आफ्नो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको दाबी गर्दै देशले आन्दोलन र होनाहार युवा कुरेर बसेको आँफुलाइ महसुस भएको उल्लेख गर्नूभयो । उहाँले विगतका राजनीतिक दललाई दोष लगाएर मात्रै आफूहरू अघि बढ्न नसक्ने उल्लेख गर्दै विगतका ३५ वर्षको हिसाब–किताबमा अल्झिनुभन्दा आगामी ३५ वर्षको योजना निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभयो । सभापति लामिछानेले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारको कार्यसम्पादनप्रति सन्तोष व्यक्त गर्दै अहिलेसम्म कतै पनि भ्रष्टाचार र अनियमितताको प्रश्न नउठ्नु नै ठूलो कुरा भएको बताउनुभयो ।
रवि लामिछाने, सभापति, रास्वपा
सभापति लामिछानेले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै रास्वपा केन्द्रमा मात्र सीमित नभई गाउँ, टोल र बस्तीस्तरसम्म पुग्नुपर्ने बताउनुभयो । दुईदिने कार्यशालामा रास्वपाको नीति, संगठन सुदृढीकरण र नेतृत्व क्षमता विकाससँगै सामाजिक लोकतन्त्र, पार्टीका आधारभूत मूल्य–मान्यता, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट, बजेट निर्माण तथा पार्टी–सरकार सम्बन्धलगायत विषयमा छलफल भएको थियो।
